अवैध रूपमा जडीबुटी सङ्कलन गर्ने एक जना स्याङ्जामा पक्राउ


काठमाडाैँ । अवैध रूपमा जडीबुटी संकलन गरी सञ्चय गरिरहेको अवस्थामा स्याङ्जामा एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भीरकोट नगरपालिका वडा नम्बर ९ सिर्कोटबाट ३१ वर्षीय आनन्द बहादुर सार्कीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पुस १५ गते दिउँसो करिब २ः१५ बजेको समयमा चुत्रो जातको जडीबुटी अवैध रूपमा सङ्कलन गरी राखिएको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो। सो क्रममा अन्दाजी २५० केजी चुत्रो जातको जडीबुटी बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद जडीबुटीसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब डिभिजन वन कार्यालय वालिङ, स्याङ्जामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले वन तथा वातावरणसम्बन्धी कानुन उल्लङ्घन गर्ने कार्यमा संलग्न जो–कोहीमाथि कडाइका साथ कारबाही गरिने जनाएको छ।