काठमाडौँ । नेपाल र भारतबिच कृषि क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अघि बढाउने उद्देश्यले गठित ‘संयुक्त कृषि कार्य समूह’ काे नवौं बैठक काठमाडौँमा सम्पन्न भएको छ।
गत पाैष १३ र १४ गते आयोजित दुई दिने बैठकको सह-अध्यक्षता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव डा. हरि बहादुर के.सी. र भारत सरकार, कृषि तथा किसान कल्याण मन्त्रालयका अतिरिक्त सचिव डा. प्रमोद कुमार मेहेरदाले गरेका थिए । यो बैठक सन् २०२५ अप्रिलमा हस्ताक्षर भएको ‘कृषि सहयोग सम्बन्धी नयाँ समझदारी पत्र’ अन्तर्गत भएको पहिलो बैठक हो भने सन् २०२० पछि करिब पाँच वर्षमा भएको उच्चस्तरीय बैठक पनि हो।
बैठकको आरम्भमा दुवै देशका प्रतिनिधिमण्डलले आ-आफ्नो कृषि नीति, प्राथमिकता र वर्तमान चुनौतीहरूको विस्तृत प्रस्तुतीकरण गरेका थिए। सन् २०२४–२५ मा नेपाल र भारतबीचको द्विपक्षीय कृषि व्यापार १.६ अर्ब अमेरिकी डलर नाघेको तथ्य प्रस्तुत गर्दै, दुवै पक्षले यस व्यापारलाई थप सन्तुलित, व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतीय पक्षले ‘छिमेकी पहिलो’ नीति अनुरुप नेपालसँग कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा नजिकै काम गर्न चाहेको उल्लेख गरेको थियो। बैठकमा नेपालले भारतबाट उपलब्ध १५ वटा उन्नत मुर्रा राँगा बाट हालसम्म ९२ हजार ७६६ डोज वीर्य उत्पादन भइसकेको जानकारी पाएकोमा धन्यवाद व्यक्त गर्यो ।
साथै, ८ थरिका नेपाली कृषिजन्य वस्तुहरूको प्रयोगशाला परीक्षण भारतले मान्यता दिएकोमा कृतज्ञता व्यक्त गर्दै सूचीलाई विस्तार गरी भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न अनुरोध गरिएको मन्त्रालयकी सह-सचिव एवं प्रवक्ता, डा. जानुका पण्डितले जानकारी दिइन् ।
बैठकमा डिजिटल कृषि, जलवायु अनुकूल खेती, प्राकृतिक खेती प्रणाली र खाद्यान्न सुरक्षासहितका आधुनिक कृषि प्रविधि र सहकार्यका विषयमा पनि गहन छलफल भएको थियो।
दुवै पक्षले आगामी ३ महिनाभित्र ‘द्विवार्षिक कार्य योजना’ तयार गरी कार्यान्वयन गर्ने, रासायनिक मल आपूर्ति सहज बनाउने, कृषि पूर्वाधार विकास र खाद्य गुणस्तर तथा क्वारेन्टाइन सम्बन्धी समस्यामा सुधार गर्ने सहमति गरेका छन्।
साथै, कृषि अनुसन्धान, पशुपन्छी र मत्स्य क्षेत्रमा छुट्टै समझदारी गरी सहकार्य अगाडि बढाउने निर्णय पनि भएको छ।



प्रतिक्रिया दिनुहोस्