अख्तियारद्वारा कास्की सरकारी जग्गा घोटालामा ५ प्रतिवादीविरुद्ध मुद्दा दायर


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका सरकारी जग्गा सम्बन्धी भ्रष्टाचारको मामलामा मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौँमा दायर गरेको आरोपपत्रअनुसार पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको ३-३-०-० रोपनी जग्गा अनियमित रूपमा प्रतिवादी भिम बहादुर वि.क. र उनका सम्बन्धित व्यक्तिहरूको नाममा दर्ता गरिएको देखिएको छ।

अनुसन्धानमा, तत्कालीन भूमि आयोगका अध्यक्ष र सदस्यहरूले आफ्नो पदको दुरुपयोग गरी सरकारी/सार्वजनिक जग्गालाई गैरकानूनी रूपमा उपलब्ध गराएको पुष्टि भएको आयोगले जनाएको छ।

प्रतिवादीहरूले सुकुम्बासी समस्या समाधान आयोगको निर्णयलाई गलत रूपमा प्रयोग गरी गैरसुकुम्बासी भिम बहादुर वि.क. लाई लाभ दिलाएको पाइएको छ। साथै, जग्गा सम्बन्धी सरकारी अभिलेखमा नरहेको कागजातलाई आधार बनाएर जग्गा उपलब्ध गराइएको समेत उल्लेख छ।

आयोगले सार्वजनिक गराएको विवरण अनुसार आरोपपत्रमा पाँच प्रतिवादी रहेका छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर ठहर गर्दै रु. १ करोड ४० लाख २५ हजार बिगो कायम गरी कैद र जरिवाना तोक्न माग गरिएको छ।

प्रमुख प्रतिवादीमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखेल, सदस्यहरु रामचन्द्र अधिकारी, आश बहादुर गुरुङ, उमा कुमारी थापा र सोमबहादुर नेपाली तथा जग्गा प्राप्त प्रतिवादी भिम बहादुर वि.क. रहेका छन्।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी लाभ लिएको र सार्वजनिक संस्थालाई आर्थिक हानि पुर्‍याएको बताउँदै आवश्यक कानूनी कारबाही अघि बढाइने बताएका छन्।