काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान समय लगानीका लागि उपयुक्त रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक संवाद कार्यक्रममा सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको उल्लेख गरे ।
अर्थमन्त्री खनालले जेनजी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भए पनि निजी क्षेत्र फेरि उठ्ने अवस्थामा रहेको बताए । उनका अनुसार हाल मूल्यवृद्धि न्यून रहेको, चालु खाता बचतमा रहेको र समग्र आर्थिक सूचकहरू सकारात्मक रहेकाले यो समय लगानीका लागि अनुकूल बनेको छ।
निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनको रूपमा व्याख्या गर्दै उनले निजी क्षेत्रको सम्पत्तिमा हुने क्षति राष्ट्रकै क्षति हुने स्पष्ट पारे। निजी क्षेत्रले आर्जन गर्ने नाफा समाजका विभिन्न तहमा वितरण हुने भएकाले यसको संरक्षण र प्रवर्द्धन अत्यावश्यक रहेको उनको भनाइ थियो।
उनले भने “जेन–जी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपर्यो। तर निजी क्षेत्र फेरि उठ्छ भन्ने विश्वास छ। अहिले अर्थतन्त्र सकारात्मक छ, मूल्यवृद्धि न्यून छ र चालु खाता बचतमा छ। त्यसैले लगानीका लागि यो उपयुक्त समय हो। हामी खरानीबाट उठ्छौँ भन्ने क्रममा थुप्रै सुधारका काम पनि भएका छन्। अब व्यापक संवाद आवश्यक छ। निजी क्षेत्रको महत्व र निजी लगानीको संरक्षण गर्न जरुरी छ। निजी क्षेत्रको सम्पत्तिमा क्षति हुनु भनेको राष्ट्रकै क्षति हुनु हो।”
अर्थमन्त्री खनालले प्रत्येक नागरिक आन्दोलनका बेला निजी क्षेत्र निशानामा पर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै अब मुलुकभित्र हुने लगानीमा क्षति पुग्दा त्यसलाई राष्ट्रिय क्षतिका रूपमा बुझ्ने सोच विकास गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको क्षति मुलुकको क्षति हो भन्ने कुरा समाजका सबै तहमा स्थापित गर्न आवश्यक रहेको उनको निष्कर्ष थियो।



प्रतिक्रिया दिनुहोस्