काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने दृढ विश्वास व्यक्त गरेकी छन्। राजनीतिक दल र युवा पुस्ताबीच निरन्तर रूपमा भएको संवादका कारण मुलुक निर्धारित मितिमै निर्वाचनतर्फ अघि बढ्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा भूमिका खेलेको भन्दै राजनीतिक दल, निर्वाचन आयोगलगायत सबै सरोकारवालाप्रति आभार व्यक्त गरिन् । उनले सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने उद्देश्यसहित वर्तमान सरकार गठन भएको स्मरण गराइन् ।
सरकार, राजनीतिक दल र युवाहरूसँगको निरन्तर संवाद र सहकार्यकै कारण तोकिएकै मितिमा निर्वाचन गराउने अवस्थामा पुगिएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । यस प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति उनले धन्यवादसमेत व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले नेपालको राजनीतिक इतिहास उल्लेख गर्दै पछिल्ला ७५ वर्षमा आधा दर्जनभन्दा बढी परिवर्तनकारी राजनीतिक आन्दोलन भएको बताइन्। यस अवधिमा अन्तरिम संविधानसहित पाँच पटक नयाँ संविधान बने पनि तत्कालीन समयमा उत्कृष्ट ठानिएका धेरै राजनीतिक परिवर्तन दिगो हुन नसकेको उनको टिप्पणी थियो ।
समयानुकूल आम नागरिकको जीवनस्तर सुधार हुन नसक्नु, पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त नहुनु तथा आचरण र व्यवहार न्यायपूर्ण नबन्दा नागरिकमा निराशा बढ्दै गएको उनले उल्लेख गरिन् ।
जनताका निराशालाई समयमै सम्बोधन गर्न नसक्दा मुलुक विभिन्न सङ्कटको चपेटामा पर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ती चुनौती चिर्दै अघि बढ्न आवश्यक रहेकोमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस्