बालुवाटरको मेगा मार्टमा विभागकाे अनुगमन, भण्डारण मापदण्ड पालना गर्न निर्देशन


काठमाडाैँ । काठमाडाैँकाे बालुवाटरमा रहेकाे मेगा मार्ट प्रा. लिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेको छ।

विभागले गत पुस १३ गते काठमाडौँ उपत्यकाभित्र खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण हुने स्थलहरूमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गरेको हो। सो क्रममा बालुवाटारस्थित मेगा मार्ट प्रा. लि. को निरीक्षण गरिएको विभागले जनाएको छ।

निरीक्षणका क्रममा मेगा मार्टमा सरसफाइको अवस्था सन्तोषजनक पाइए पनि लच्छा पराठा लेबलमा उल्लेख गरिएको तापक्रमअनुसार भण्डारण नगरिएको पाइएको छ। उक्त कमजोरी भेटिएपछि विभागले सम्पूर्ण खाद्य पदार्थलाई लेबलमा उल्लेख भएबमोजिमको तापक्रम तथा आद्रता (आरएच) मा भण्डारण गर्न निर्देशन दिएको छ।

यसै क्रममा मेगा मार्टबाट बिक्री–वितरण हुँदै आएका बिस्कुट, तोरीको तेल, कुकीज, चिउरा, घ्यू, प्रशोधित सूर्यमुखी तेल र चिल्ली पाउडरसहित जम्मा ११ थान खाद्य पदार्थको नमुना सङ्कलन गरिएको विभागले जनाएको छ। सङ्कलित नमुनाहरू खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार परीक्षणका लागि प्रयोगशालामा पठाइने जनाइएको छ।