काठमाडौँमा नक्कली हजार रुपैयाँको ९३ थान नोटसहित ६ जना पक्राउ


काठमाडौँ । प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार बेलुकी ९:३० बजे गोकर्णेश्वर नगरपालिका ८, अत्तरखेल चोकमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उक्त स्थानमा चेकजाँच गर्दा एक हजार रुपैयाँको नक्कली नोट ९३ थानसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा दावा नोर्बु शेर्पा, पासाङ शेर्पा, प्रकाश गुरुङ, रेणुका भारती, गोकर्ण थापा र सुक बहादुर स्याङ्बो रहेका छन्। उनीहरू विभिन्न जिल्ला, मुख्यतः सिन्धुपाल्चोक र काठमाडौँका बासिन्दा हुन्।

प्रहरी उपरीक्षक तथा प्रवक्ता पवन कुमार भट्टराईले पक्राउ परेकाहरूको विस्तृत अनुसन्धान भइरहेको बताए। प्रहरीले उनीहरूको नेटवर्क र नक्कली नोटको स्रोतबारे थप जानकारी जुटाउन खोजिरहेको छ।