कतारले राष्ट्रिय दिवसका अवसरमा १३ नेपाली कैदीलाई दियो आममाफी


काठमाडौँ । कतार राज्यले १३ जना नेपाली कैदीलाई आममाफी दिएकाे छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवीय आधारमा उक्त आममाफी दिइएको हो।

यस कदमप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतार सरकारको यो निर्णयलाई मानवीय संवेदनशीलता र नेपाल–कतारबिचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार आममाफीले कतारमा रहेका नेपाली नागरिकप्रति त्यहाँको सरकारले देखाएको सकारात्मक दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। यसले दुई देशबिच आपसी विश्वास, सहकार्य र मित्रता अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।