काठमाडौँ । कालिकोटको कोटवाडा विमानस्थलमा नियमित उडानका लागि छलफल भएको छ ।
अखिल (समाजवादी)का अध्यक्ष नरेन्द्र सी नेतृत्वको टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशक देवचन्द्रलाल कर्ण र तारा एयरका प्रतिनिधिसँग आज छलफल गरेको हो ।
विमानस्थलमा ०७३ माघ २९ गते पहिलो पटक परीक्षण उडान भएको थियो । यस्तै २०८० फागुन १४ गते तारा एयरले नै दोस्रोपटक परीक्षण उडान गरेको थियो ।
दुइपटक सफल परीक्षण उडान र उद्घाटन भए पनि कालीकोटको एकमात्रै विमानस्थल कोटवाडामा नियमित उडान हुन सकेको छैन ।
प्राधिकरणको केन्द्रीय कार्यालय सिनामङ्गल,काठमाडौँमा भएको छलफलका क्रममा कोवाडा विमानस्थलमा उडानका लागि आफूहरू तयार रहेको तारा एयरका प्रतिनिधिले जानकारी गराएका थिए ।
कार्यवाहक महानिर्देशक कर्णले कोटवाडा विमानस्थलमा उडानका लागि आफूहरू सकारात्मक रहेको बताएका थिए ।
संयुक्त छलफलका क्रममा कार्यवाहक महानिर्देशक कर्णले भने,“यो हाम्रै संरचना हो, बरु उडानका लागि तयारी छिटो गरौँ । तारा एयरले प्रस्ताव ल्याए हामी तुरुन्तै स्वीकृत गछौँ र हाम्रो जनशक्ति पनि खटाउछौँ ।”
छलफलका क्रममा उडानका लागि छिटो तयारी गर्ने सहमति भएको अध्यक्ष नरेन्द्र सीले जानकारी दिए ।
विमानस्थल तयार भए पनि यात्रुको नियमिता, जहाजको अभाव र जिल्लास्थित राजनीतिक दल र स्थानीय सरकारको पहलका कारण उडान हुन नसकेको अध्यक्ष सीको दाबी छ । उनले यस विषयमा नेपाल एयरलाइन्ससँग पनि छलफल गर्ने बताए ।
अध्यक्ष सीले भने,“प्राधिकरणका महानिर्देशक एकदमै सकारात्मक हुनुहुन्छ, छलफलका क्रममा तारा एयरका प्रतिनिधिले पनि उडानका लागि आफूहरू तयार रहेको बताउनुभएको छ । हामी नेपाल एयरलाइन्ससँग पनि छलफल गछौँ र उडानका लागि वातावरण तयार गर्छौँ ।
यो विमानस्थल निर्माणका क्रममा २०५८ फागुन १५ गते स्थानीय र धादिङका कामदार गरि तत्कालीन शाही सेनाले माआवादी भएको आरोपमा ३६ जनाको हत्या समेत थियो ।
सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली हानेर हत्या गरेको थियो ।
२०४२ सालदेखि निर्माण सुरु गरिएको विमानस्थलमा २०७३ र २०८० मा परीक्षण उडान गरिए पनि नियमित उडान भने हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्