काठमाडौँ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ(नामिया) को आयोजनामा सञ्चालन गरिएको हाते ट्याक्टर (मिनी टिलर) मर्मत–सम्भारसम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ।

पुस १४ गतेदेखि १८ गतेसम्म चलेको उक्त तालिमको समापन कार्यक्रममा सरोकारवालाहरूले बढ्दो कृषि यान्त्रिकरणसँगै दक्ष मर्मत जनशक्तिको अभाव गम्भीर बन्दै गएको उल्लेख गर्दै यस्ता तालिम समयसापेक्ष र अत्यन्त उपयोगी भएको बताएका छन्।
समापन कार्यक्रममा बोल्दै नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा. श्रीमद् श्रेष्ठले तालिम आवश्यक ठानेर सहभागी भएका सबै किसानप्रति धन्यवाद व्यक्त गरे।

उनले विभिन्न ठाउँमा मिनी ट्याक्टर वितरण गरिए पनि मर्मत गर्ने जनशक्ति नहुँदा धेरै उपकरण थन्किएको अवस्था रहेको उल्लेख गरे।
नयाँ–नयाँ मेसिन भित्रिँदै गएको सन्दर्भमा यस्ता तालिम निकै फलदायी हुने उनको भनाइ थियो।
सुरुवातमा कठिन भए पनि निरन्तर अभ्यास र काम गर्दै गएपछि यस क्षेत्रमा सफल हुन सकिने बताउँदै उनले यान्त्रिकरण बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेकोले सुरक्षित प्रयोग र मर्मत सीप सिकाउनु अनिवार्य भएको धारणा राखे।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले तालिमले सहभागीलाई सीप र उद्यमशीलतामा अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले भन्सारको तथ्याङ्क उद्धृत गर्दै नेपालमा हाल वार्षिक ३५ हजारभन्दा बढी मिनी ट्याक्टर भित्रिएको जानकारी दिए। ती सबै उपकरणको मर्मतका लागि करिब एक हजार जनशक्ति आवश्यक पर्ने भए पनि हाल एक तिहाइ पनि प्राविधिक जनशक्ति नभएको उनको भनाइ थियो।

पछिल्लो समय मिनी ट्याक्टर सस्तो हुँदै गएको र यसको प्रयोग अझ बढ्ने देखिएकाले मर्मत जनशक्ति उत्पादनमा राज्य र निजी क्षेत्र दुवैको ध्यान जानुपर्ने उनले बताए।
संघ आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्न तयार रहेको उनले स्पष्ट पारे।
संघका महासचिव अर्जुन लुइँटेलले पाँच दिने तालिमले किसान तथा युवालाई व्यवहारिक रूपमा ठूलो फाइदा पुर्याउने बताए।
संघकी उपाध्यक्ष सुनिता निमाफुकीले तालिमबाट प्राप्त सीपले रोजगारी सिर्जना हुने र अरूलाई पनि रोजगारी दिन सकिने अवस्था बन्ने बताइन्। उनले सिकेको सीपलाई ढिलाइ नगरी तत्काल प्रयोगमा ल्याउन सहभागीलाई आग्रह गरिन्।
नार्कका वैज्ञानिक तथा तालिमका प्रशिक्षक शैलेन्द्र खत्रीले तालिम अवधिमा मिनी टिलर ट्र्याक्टरसम्बन्धी सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा सहभागीले राम्रो ज्ञान हासिल गरेको बताए।

एसोसिएसन अफ एग्रीकल्चर जर्नलिस्ट (अनाज)का अध्यक्ष किरण आचार्यले तालिममा सिकेका कुराहरू व्यवहारमा उतारिनेमा विश्वास व्यक्त गरे।
तालिममा सहभागीहरूले पनि आ–आफ्नो अनुभव साझा गरेका थिए।
पाल्पाबाट आएका नारायणप्रसाद ढकालले मेकानिक सम्बन्धी ज्ञान हासिल गर्न पाउँदा आफूलाई उपयोगी भएको बताए।
धनगढीबाट आएका उज्ज्वल बुर्लाकोटीले तालिम समग्र रूपमा राम्रो भएको भन्दै आयोजकलाई धन्यवाद दिए
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ का वडाध्यक्षसमेत रहेका रुद्रकुमार राईले हाते ट्याक्टर प्रयोगमा धेरै समस्या भोग्नुपरेको अनुभव सुनाउँदै मर्मत सीपले अब काममा ठूलो सहयोग पुग्ने बताए।
उनले पछिल्लो समय गाउँघरमा ट्याक्टर बढे पनि मर्मत नहुँदा समस्या आएको उल्लेख गर्दै आफू राजनीति भन्दा पनि कृषि कर्ममै लाग्ने धारणा व्यक्त गरे।

झापाको बिर्तामोडबाट आएका मोहम्मद जाबीरले परम्परागत हलो हराउँदै गएको र हाते ट्याक्टरको प्रयोग बढ्दै गएको अवस्थामा यस्ता तालिम अत्यन्त उपयोगी भएको बताए।
चिन्तामणी थारुले तराई क्षेत्रमा ट्याक्टरको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा तालिमले व्यवहारिक ज्ञान दिएको उल्लेख गरे।
उनले २५ जना सहभागीमध्ये करिब ९० प्रतिशतले काम गर्न सक्ने स्तरको सीप हासिल गरेको बताउँदै सिकेको सीप तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।
उनले मर्मत सीप अभावका कारण नयाँ मेसिन किन्नुपर्ने प्रवृत्ति बढ्दै गएको भन्दै सरकारले पनि यस्ता तालिममा ध्यान दिनुपर्ने सुझाव दिए।
१८ जिल्लाका २४ जना सहभागी रहेको उक्त तालिमको प्लाटिनम प्रायोजक एसकेटी नेपाल प्रालि तथा गोल्ड प्रायोजक जि–सेभेन एग्रीकल्चर प्रालि रहेका थिए।

बढ्दो कृषि यान्त्रिकरण, मर्मत जनशक्तिको अभाव र सुरक्षित प्रयोगको चुनौतीबिच सम्पन्न यो तालिमले कृषि क्षेत्रमा दक्ष प्राविधिक उत्पादनतर्फ सकारात्मक सन्देश दिएको सहभागीहरूको निष्कर्ष थियो।




प्रतिक्रिया दिनुहोस्