फिनटेक कानून र नीतिमा स्पष्टता ल्याउन सरकारसँग व्यवसायीहरूको माग


काठमाडाैँ । ललितपुरमा पहिलो पटक आयोजना गरिएको नेपाल फिनटेक एक्स्पोमा सहभागी व्यवसायीहरूले फिनटेकसम्बन्धी स्पष्ट कानून र नीतिगत व्यवस्था निर्माण गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले फिनटेक प्रविधिको विकास र प्रयोगलाई व्यवस्थित बनाउन तत्काल ठोस नीति आवश्यक रहेको भन्दै सरकारलाई सचेत गराएका हुन्।

एक्स्पोमा सहभागी व्यवसायी देवेन्द्र खड्काले उपभोक्ताको हितलाई केन्द्रमा राखेर फिनटेकसम्बन्धी कानूनी र नीतिगत संरचना तयार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपालको प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सरकारको सहजीकरण भूमिका महत्वपूर्ण हुने बताए । खड्काका अनुसार फिनटेकसम्बन्धी कानून प्रत्यक्ष रूपमा प्रविधिमै केन्द्रित हुनु भन्दा पनि नेपाली उपभोक्ताको आवश्यकता र मागअनुसार निर्माण हुनुपर्छ। उपभोक्ताको मागका आधारमा नयाँ सेवा विस्तार हुँदै जाने र त्यसअनुसार कानून बन्ने प्रक्रिया नै व्यावहारिक हुने उनको भनाइ छ।

उनले उदाहरण दिँदै राइड सेयरिङ एपहरू लोकप्रिय भएपछि त्यससँग सम्बन्धित कानून बनेको उल्लेख गरे । यही अभ्यास फिनटेक क्षेत्रमा पनि लागू गर्न सकिने भन्दै कुन प्रविधि अनुमति दिने र कुन नदिने भन्ने विषयमा सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए।

त्यसैगरी व्यवसायी राजनराज पन्तले नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकारको सक्रिय पहल आवश्यक रहेको बताए । उनले फिनटेक तथा प्रविधिसम्बन्धी व्यवसायलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । पन्तका अनुसार यस्ता एक्स्पो तथा प्रदर्शनीका लागि सरकारी सहयोग अपरिहार्य छ, जसले बजार पहुँच विस्तार गर्न मद्दत पुर्‍याउँछ।

उनले विदेशी दूतावासहरूमार्फत अन्तर्राष्ट्रिय बजारका सम्भावित लगानीकर्ता र आगन्तुकलाई नेपालमा ल्याउने पहल गर्न सके नेपाली प्रविधि विश्व बजारमा पुग्न सक्ने बताए । कतिपय नेपालीहरूले विकास गरेको प्रविधि अहिले पनि विदेशमा प्रयोग भइरहेको उल्लेख गर्दै सरकारले पहुँच र नीति निर्माणमा सहयोग गरे प्रविधि क्षेत्रले थप फड्को मार्ने उनको भनाइ छ।

एक्स्पोका क्रममा डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, एम्बेडेड फाइनान्स, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तारजस्ता विषयमा गहन छलफल र अनुभव आदान–प्रदान गरिएको आयोजकले जनाएको छ।