काठमाडौँ । भेनेजुयलामाथि अमेरिकाले गरेको भनिएको सैनिक आक्रमण र राष्ट्रपति निकोलस मडुरो तथा उनकी पत्नी सिलीया फ्लोरेसको नियन्त्रणप्रति नेकपा (एमाले)का नेता सूर्य थापाले आपत्ति जनाएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत स्वतन्त्र राष्ट्र भेनेजुयलामाथि गरिएको अमेरिकी सैनिक हस्तक्षेप र निर्वाचित राष्ट्राध्यक्षको गिरफ्तारीलाई निन्दनीय भन्दै यसलाई सभ्य विश्व समुदायले स्वीकार्न नसक्ने बताएका हुन्।
उनले निर्वाचित र वैधानिक राष्ट्रपतिलाई पत्नी सहित गैरकानुनी रूपमा नियन्त्रणमा लिई सैनिक कब्जामा अमेरिका पुर्याउनु अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन भएको उल्लेख गरेका छन्।
उनका अनुसार यो कदम भेनेजुयलाको सार्वभौमसत्तामाथिको फासिष्ट अतिक्रमण हो, जसले अन्तर्राष्ट्रिय नियम र मूल्य–मान्यतालाई चुनौती दिएको छ। थापाले यस्तो हर्कतको निन्दा र भर्त्सना गर्दै राष्ट्रपति मडुरो दम्पतीलाई ससम्मान स्वदेश फिर्ता गरिनुपर्ने माग गरेका छन्।
साथै उनले जनादेशअनुसार राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न कुनै पनि प्रकारको अवरोध नगर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।



प्रतिक्रिया दिनुहोस्