काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले रवि लामिछानेको सचिवालयमार्फत सञ्चालनमा ल्याइएको ‘ब्लुबस’ सेवा बन्द भएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ।
पार्टीले केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार तथ्यहीन र भ्रामक भएको स्पष्ट पारेको छ।
रास्वपाका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ मा सभापति रवि लामिछाने अत्यधिक मतका साथ निर्वाचित भएपछि विशेषगरी महिलाहरूको सहज आवागमनलाई लक्षित गरी ब्लुबस सेवा सञ्चालनमा ल्याइएको थियो।
पार्टीले ब्लुबस सेवा केही दिनयता मर्मतसम्भारका कारण अस्थायी रूपमा रोकिएको मात्र भएको र अब एक–दुई दिनभित्र मर्मत कार्य सम्पन्न गरी पुनः सञ्चालनमा ल्याइने जानकारी दिएको छ। सेवा स्थायी रूपमा बन्द गरिएको भन्ने समाचार सत्य नभएको र यसले आम जनमानसमा भ्रम सिर्जना गरेको पार्टीको भनाइ छ।
रास्वपा चितवनले बिना तथ्य र आधिकारिक जानकारी यस्ता समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यमलाई आग्रह गर्दै पत्रकारिताको निष्ठा र धर्मअनुसार सत्य, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्न ध्यानाकर्षण गराएको छ।



प्रतिक्रिया दिनुहोस्