काठमाडाैँ । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले शनिवार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि चाँडै अमेरिकी अदालतहरूमा मुद्दाको सामना गर्ने बताएकी छन् ।
तेलले धनी दक्षिण अमेरिकी राष्ट्रबाट उनलाई पक्राउ गरी बाहिर लगिएपछि बोन्डीको यो भनाइ सार्वजनिक भएको हो । बोन्डीले सामाजिक सञ्जालमा निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरुद्ध न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग दर्ता गरिएको बताइन् ।
मादुरोमाथि लागुऔषध–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको, तथा संयुक्त राज्य अमेरिका विरुद्ध ती हतियार प्रयोग गर्ने षड्यन्त्र गरेको जस्ता गम्भीर आरोपहरू लगाइएको जानकारी दिइन्।
अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले जानकारी दिएअनुसार विदेशमन्त्री मार्को रुबियोले उनलाई फोन गरेर मादुरो पक्राउ परेको र उहाँमाथि अमेरिकामा फौजदारी अभियोगमा मुद्दा चलाइने बताएका थिए। उनका अनुसार यो कारबाही अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकार क्षेत्रभित्र पर्दछ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाको ठूलो स्तरको आक्रमणका बिच मादुरो र उहाँकी पत्नीलाई कब्जामा लिएर देशबाहिर लगिएको घोषणा गरेका थिए । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सरकारी टेलिभिजनमार्फत मादुरो र उहाँकी पत्नीको अवस्था अज्ञात रहेको बताउँदै ट्रम्पसँग उनीहरू जीवितै रहेको प्रमाण माग गरेका छन् ।
लामो समयदेखि अमेरिकाले क्यारिबियन क्षेत्र र भेनेजुएलाको समुन्द्री तटमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको थियो । अमेरिकाले यसलाई लागुऔषध तस्करी विरुद्धको अभियान बताए पनि भेनेजुएलाले भने यसलाई राजधानी काराकासमा सत्ता परिवर्तन गर्ने षड्यन्त्रको रूपमा निन्दा गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्