काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकारले नै निर्वाचन बिथोल्ने दिशामा काम गरिरहेको आरोप लगाएका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारको व्यवहारले निर्वाचन गराउने इच्छाशक्ति नदेखिएको दाबी गरेका हुन् ।
उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका सुरक्षा निकायका हतियार तथा भागेका कैदीबन्दी अझै फिर्ता नआउनु सरकार चुनाव गराउन नलागेको स्पष्ट सङ्केत भएको बताए । उनका अनुसार लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन भने भागेका कैदीबन्दीमध्ये बहुसंख्यक अझै बाहिरै छन्। यस्तो अवस्थामा निष्पक्ष र सुरक्षित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठ्ने उनको भनाइ थियो।
उनले बाहिर रहेका हतियार र कैदीबन्दी कसको विरुद्धमा प्रयोग हुन सक्छन् भन्ने विषय गम्भीर छलफल र चिन्ताको विषय भएको उल्लेख गरे। वर्तमान सरकारले जानी–नजानी निर्वाचन बिथोल्ने प्रक्रियामा अघि बढिरहेको भन्दै उनले सरकारप्रति गम्भीर आशंका व्यक्त गरे।
उपमहासचिव महासेठले नेकपा (एमाले) कुनै पनि बेला निर्वाचनमा भाग लिन तयार रहेको स्पष्ट पार्दै पार्टी चुनावबाट नभाग्ने दोहोर्याए । तर संविधानका दफा र उपदफाको सम्मान गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा विगतमा स्थापित गरेको नजिरअनुसार नै फैसला गर्नुपर्ने उनको जिकिर थियो। प्रतिनिधिसभा विघटनपछि अदालतले गरेको निर्णयकै निरन्तरता कायम रहोस् भन्ने एमालेको अपेक्षा रहेको उनले बताए ।
संघीयता, लोकतन्त्र र गणतन्त्रसहितको संविधानको रक्षा गर्नका लागि एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत उपमहासचिव महासेठले उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस्