काठमाडाैँ । विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ ।
अध्यागमन विभागले १ जनावरी सन् २०२६ बाट लागू गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लाई प्रभावकारी बनाउन टेलिकम प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेलसँग पनि सहकार्य गर्ने तयारी गरेको हो ।
नेपालभित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढंगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गरिएको र अधिकतम विवरण संकलनका लागि टेलिकमप्रदायक कम्पनीहरुसँग पनि सहकार्य गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
उनकाअनुसार नेपाल टेलिकम र एनसेलसँग सिस्टमलाई जोड्न छलफल चलिरहेको छ । आगामी हप्ता भित्रै नतिजा देखिनेछ ।
उनकाअनुसार टेलिकमहरुबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण अध्यागमनको प्रणालीमा आउनेछ । त्यसबाट सम्पूर्ण विवरणहरु थाहा पाउन सहज हुनेछ । वायुसेवा सञ्चालकहरुसँग पनि यो सिस्टम जोड्न छलफल भइरहेको छ ।
आगामी हप्ताभित्रै जोडेर प्रणाली विस्तार गरिँदैछ । अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा शुरु गर्दैछ । त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबैतिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरुलाई विभिन्न एजेन्सीहरुसँग छलफल भइरहेको छ ।
उनकाअनुसार पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गरिएको हो । यसका लागि निजी क्षेत्रसँग सम्बन्ध भएको छ र उनीहरु यो प्रणालीलाई लागू गर्न तयार छन् ।
अहिले सम्म करिब साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौका तारे होटेलहरु हामीसँग जोडिएका छन् । जोडिने क्रम दिनानु दिन बढिरहेको छ ।
महानिर्देशक तिवारीले भने, “जनवरी १ बाट यो खास गरेर विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुरु गरिएको छ । यो शुरु गर्नका लागि विगत ४ महिनादेखि स्टेक होल्डरहरुसँग सघन छलफल गर्ने, प्रणालीहरुको विकास गर्ने र त्यसमा प्रतिक्रियाहरु लिने काम गरिरहेका थियौ र यो सिस्टम नयाँ पनि भएको र धेरै स्टेकहोल्डरहरु जोडिनुपर्ने हुँदा पहिलो चरणमा काठमाडौंका तारे होटलहरुबाट शुरु गरेका थियौ र अहिलेसम्म करिव साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौंका तारे होटेलहरु हामीसँग जोडिएका छन् ।”
यो सिस्टममा जोडिएकाहरुकोमा आउने विदेशी नागरिकहरुको होटेलहरुमा भएको विवरण हाम्रो सिस्टमले प्राप्त गर्न सुरु भएको उनले बताए ।
अब हामी यसलाई विस्तार गर्नुपर्ने उनकाे भनाइ छ । अब होटल एसोसिएसनका दुवै ओटै संस्थाहरु, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका संस्थाहरु सबैसँग मिलेर यो सिस्टमलाई विस्तार गर्ने उनले बताए ।
“अहिले हामी नेपाल टेलिकम र एनसेलसँगसँग यो सिस्टम जोड्दै छौं । त्यहाँबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण हामी कहाँ आउने गरेर त्यो पनि हामी जोड्ने अन्तिम चरणमा छौ । वायु सेवा सञ्चालकहरुसँग कुरा भइरहेको छ भने अब आन्तरिक वायु सेवा कम्पनीको सिस्टम र अध्यायमन प्रणालीलाई आगामी हप्ता भित्रै जोडेर प्रणाली विस्तार गरिदैछ । अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा सुरु गर्दैछ । त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबै तिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरुलाई विभिन्न एजेन्सीहरुसँग छलफल भइरहेको छ,” उनले भने ।
सिस्टमले कसरी निगरानी गर्छ ?
महानिर्देशक तिवारीकाअनुसार नेपाल आउने हरेक विदेशीको विवरण ट्रभल एजेन्सी, होटल, मनि एक्सचेञ्जदेखि पर्यटन विभागबाट समेत लिइँदैछ । उनीहरुलाई यो प्रणालीमा ल्याएर पर्यटकको विवरण राख्न भनिनेछ ।
महानिर्देशक तिवारीले भने, “हामी चाहे तपाई एउटा विदेशी कोहि नेपाल आइसकेपछि ट्राभल गर्छ, सार्वजनिक बस अथवा एयरलाइन्समार्फत यात्रा गर्छ । होटेलहरुमा बस्छ । सिम कार्ड लिनुप¥यो भने हाम्रो दूरसञ्चार सेवा प्रदायकमा जान्छ । त्यसपछि पैसा काट्नुप¥यो भने मनि एक्सचेञ्जमा जान्छ । अरु केही काम गर्नु अथवा बैंकमा जान्छ । त्यसपछि ट्रेडिङ माउन्टेनियरिङ गर्नप¥यो भने उनीहरुका संस्थामा जान्छ । पर्यटन विभागमा जान्छ । यी सबै गर्दा पर्यटक जो जो सँग ठोकिन्छ ति सबै सँग इन्काउन्टर भएको विवरणलाई सिस्टमले ट्रयाक गर्छ । त्यही विवरण प्राप्त गर्नका लागि सबै संस्थाहरुसँग अध्यागमनले काम गरिरहेको छ ।”
सिस्टम कति सुरक्षित ?
अध्यागमन विभागका महानिर्देशक तिवारीकाअनुसार जनावरी १ बाट लागू गरिएको यो प्रणालीलाई प्रभावकारी रुपमा लागू गराइछाडिनेछ र सिस्टममा राखिएका हरेक विवरण सुरक्षित राखिनेछ ।
अध्यागमनले बनाएको सिस्टमलाई सुरक्षित भरपर्दो बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अध्यागमन विभागले अडिट गराइएको थियो । प्रणाली बारम्बार अपग्रेड गरिरहनुपर्नेछ । त्यसले पनि सिस्टम थप प्रभावकारी, सुरक्षित भरपर्दो बन्नेछ ।
महानिर्देशक तिवारीले भने ,”जुन अध्यागमनसँग पहिलेदेखि सिस्टम छ । यो प्रणाली त्यसकै एउटा मोडलको रुपमा विकास गरिएको छ । समग्रमा हेर्दा जुन हाम्रो बोर्डर कन्ट्रोल सिस्टम छ नेपाली पोर्ट भन्ने त्यो सिस्टम जति सुरक्षित हो यो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली भनेको त्यही बराबर इक्वल सेक्युरिटी नै छ । हामी हाम्रो त्यसको डिजाइनदेखि वेभको डेभलप सोहीअनुसार गरिएको छ ।”
उनले समग्र सिस्टमहरुको सुरक्षा त्यसको साइबर सुरक्षाको हाम्रो पाटोमा हामीले ध्यान दिनुपर्ने भएकाेले यो प्रणालीलाई अध्यागमनले मात्रै नभई राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अडिट गराइएको बताए । यो सिस्टमलाई त्यसपछि उनीहरुबाट पनि सहयोग लिइएको छ र भोलीका दिनमा पनि सिस्टमलाई बलियो राख्न कामहरु हुने उनकाे भनाइ छ ।
उनले भने, “सेक्युरिटीका कतिपय कुराहरु अपग्रेड गर्दै पनि लैजानु पर्ने हुन्छ । एकचोटी बनेका कारणले त्यो सुरक्षित हुने पनि होइन । प्राविधि हिसावले काम भइरहेको छ । अहिले के प्रष्ट पार्न चाहन्छु भने कुनैपनि व्यक्तिको वैयक्तिक सूचनाहरु चाहीँ अध्यागमन प्रणालीमा आइसकेपछि त्यो नागरिकको सुरक्षा र कानुनको कार्यान्वयन भन्दा अरु कुनैपनि हिसाबले त्यसको दुरुपयोग हुनु हुँदैन र त्यो पूर्ण सुरक्षित हुनुपर्छ र राज्यको पूर्ण नियन्त्रणमा हुनुपर्छ भन्ने कुरामा विभाग सचेत छ र कानूनले पनि त्यो कुराको ढुक्क गराएको छ ।”
सिस्टम तलसम्म पु¥याउने योजना के ?
जनावरी १ बाट लागू भएको अध्यागमनको यो सिस्टम तल्लो तहसम्म पु¥याउन सहज भने छैन । सिस्टम जानेको जनशक्ति हरेक क्षेत्रमा छैनन् त्यसले पनि चुनौती रहेको महानिर्देशक तिवारी बताउँछन् । कतिपयले यो सिस्टमका बारेमा विदेशी नागरिकसम्म अनावश्यक अफवाह फैलाएकाले सिस्टम प्रभावकारी लागू गर्न केही चुनौति देख परेको उनको भनाइ छ ।
महानिर्देशक तिवारीले भने, “सबै मान्छेहरुलाई यसको आवश्यकता के हो भनेर यसलाई यथार्थ रुपमा बुझाउन जरुरी छ । अध्यागमनले गर्न खोजेको के हो भन्ने प्रष्ट नहुँदा कहिले कहीँ अनावश्यक रुपमा अफवाह फैलाउने, विदेशी नागरिकलाई डिस्करेज गर्ने हिसाबले पनि म्यासेज गरेको पाइन्छ । अनौपचारिक क्षेत्र धेरै रहेकाले यसको कार्यान्वयन चुनौती छ । जस्तो कतिपय होम स्टे, सार्वजनिक यातायातहरु छन् । यिनिहरुसँग कुनै रेकर्डहरु राख्ने त्यो लेभलको जनशक्ति छैन । त्यो लेभलको तयारी पनि छैन । त्यसो हुँदा यसमा चुनौती पनि छ । अध्यागमनले गरेन भने त्यो ठिक भएन त्यसैले अहिलेलाई जहाँ जहाँ गर्न सकिन्छ त्यो कुरा ग¥यौ भने पनि हामी धेरै विदेशी नागरिकहरुको मुभमेन्टलाई हामीले रेकर्ड गर्नसक्ने स्थिति आउछ र त्यसका लागि पनि सिस्टममा विभिन्न खालका मोडलहरु बनाइएको छ ।”
उनले काठमाडौँको पाच तारे होटेल, एयरलाइन्सहरुसँग टेलिकमहरुका आफ्ना आफ्नै बलिया सिस्टमहरु रहेकाे बताए । उनीहरुलाई तत्कालै लागू गरिएको उनकाे भनाइ छ । उनीहरुसँग सिस्टम छ, त्यसको एपीआइ सिस्टमबाट डेटाहरु जति चाहिने हो त्यो डाटा सिस्टमबाटै लिइने उनले बताए ।
महानिर्देशक तिवारीका अनुसार नेपालले जनावरी १ बाट लागू गरेको यो प्रणाली हरेक देशमा लागू भइसकेको छ । कुनै पनि देशले अध्यागमनमा यो प्रणाली लागू गरेर विवरण राख्दा पर्यटकको सुरक्षासँग पनि जोडिन्छ ।
कुनै पर्यटक अप्ठ्यारोमा परे नेपाल सरकारलाई उद्धार गर्न समेत यो प्रणालीले महत्वपूर्ण सहयोग गर्नेछ । तल्लो तहसम्म यो सिस्टम लैजान प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति छ ।
सोही समितिले जिल्ला स्थिति संघसंस्थाहरुसँग छलफल समन्वय गरेर प्रभावकारी रुपमा प्रणालीलाई लागू गराउनेछ ।



प्रतिक्रिया दिनुहोस्