उम्मेदवार छनोट र पार्टी समायोजनका लागि दुई उपसमिति गठन गर्ने रास्वपाको निर्णय


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन र आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि योग्य उम्मेदवार छनोट सुनिश्चित गर्ने उद्देश्यसहित पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ।

उक्त उपसमितिलाई योग्य उम्मेदवारको पहिचान गर्नुका साथै उम्मेदवार छनोटको प्रक्रिया समेत तय गरी सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। उपसमितिमा रहने अन्य सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ।

त्यस्तै, पार्टीभित्रको एकता मजबुत बनाउने तथा सम्भावित पार्टी समायोजनको प्रक्रियालाई सहजीकरण गरी निस्कर्षमा पुर्‍याउने उद्देश्यले अर्को उपसमिति पनि गठन गरिएको छ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन हुने पार्टी एकता तथा समायोजन उपसमितिमा रहने सदस्यहरू पनि पार्टी सचिवालयले नै मनोनयन गर्ने निर्णय बैठकले गरेको छ।