काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले भेनेजुयलामा अमेरिकाले गरेको पछिल्लो सैन्य तथा राजनीतिक हस्तक्षेपप्रति आपत्ति जनाउँदै त्यसको निन्दा गरेको छ।
अनेरास्ववियूले अमेरिकाका गतिविधिले भेनेजुयलाको सार्वभौमिकता र त्यहाँका जनताको मौलिक अधिकारमाथि आघात पुर्याएको जनाएको छ।
केन्द्रीय कमिटीद्वारा जारी वक्तव्यमा संयुक्त राष्ट्रसंघीय बडापत्रको मर्म र व्यवस्था विपरीत यस्ता हस्तक्षेपहरूले विश्व शान्ति र अन्तर्राष्ट्रिय स्थायित्वमा गम्भीर खतरा उत्पन्न गर्ने उल्लेख गरिएको छ।
अनेरास्ववियूले शान्तिपूर्ण सहअस्तित्व, राष्ट्रहरूको सार्वभौम समानता, पारस्परिक सम्मान, समान अधिकार र जनताको आत्मनिर्णयको सिद्धान्तमा आधारित मित्रवत् अन्तर्राष्ट्रिय सम्बन्धको पक्षमा आफू दृढ रहेको स्पष्ट गरेको छ। साथै सबै किसिमका आक्रमण, साम्राज्यवाद र हस्तक्षेपकारी गतिविधिहरूलाई अस्वीकार गर्ने जनाएको छ।
अनेरास्ववियूले भेनेजुयलाका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै बाह्य हस्तक्षेप र साम्राज्यवादबिनै आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने उनीहरूको अधिकारको समर्थन गरेको छ।
साथै भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरो मोरोसको तत्काल रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघीय बडापत्र र अन्तर्राष्ट्रिय कानुनको आधारमा तुरुन्त पहल गर्न आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्