काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले पेश गरेका बन्दसूचिसम्बन्धी कागजातको रुजु प्रक्रिया सम्पन्न गरेको छ।
आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूले बुझाएका बन्दसूचिमा समावेश कागजातहरूको विस्तृत जाँच गरिएको हो।
रुजुका क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए।
उनका अनुसार कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै प्रकारका त्रुटीहरू स्पष्ट रूपमा उल्लेख गरी दलहरूलाई सच्याउन पठाइनेछ। आयोगले दिएको समयसीमा अनुसार पुस २१ गतेदेखि २७ गतेसम्म राजनीतिक दलहरूले ती त्रुटी सच्याएर पुनः बन्दसूचि पेश गर्न सक्नेछन्।
रुजु र सच्याउने प्रक्रिया सम्पन्न भएपछि पुस २७ गते बन्दसूचि अन्तिम गरिनेछ। अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले पुस २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन्। उक्त जानकारी पनि आयोगले सम्बन्धित दलहरूलाई औपचारिक रूपमा गराउने जनाएको छ।
दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस भएपछि तयार हुने अन्तिम बन्दसूचिलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने घर्तीमगरले जानकारी दिए ।
फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूचि निर्वाचन आयोगमा पेश गरेका थिए।



प्रतिक्रिया दिनुहोस्