भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एक करोड एक लाख रुपैयाँ योगदान


काठमाडाैँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा प्रदान गरेको हो।

कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिवसहित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको समेत उपस्थिति रहेको थियो।

योगदानप्रति कृतज्ञता व्यक्त गर्दै अर्थमन्त्री खनालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग पुर्‍याएकोमा सरकारको तर्फबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरेका छन्।

सरकारका अनुसार उक्त रकमसमेत समावेश गर्दा आजसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा भएको कुल रकम १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ पुगेको छ।