समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर स्वापमा मर्ज हुँदै


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड बीच १ः१ सेयर स्वाप अनुपातमा मर्जर हुने भएको छ। मर्जर प्रयोजनका लागि दुवै संस्थाबीच गत साउन ४ गते समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

समझदारीअनुसार गठन गरिएको संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो। सो मूल्यांकन प्रतिवेदनको आधारमा समितिले सेयर स्वाप अनुपात १ः१ सिफारिस गरेको थियो, जसलाई समृद्धि फाइनान्सको सञ्चालक समितिको ५३७ औँ बैठकले अनुमोदन गरेको छ।

यस निर्णयसँगै दुवै कम्पनीबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने भएको छ। मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ। साथै, हाल समृद्धि फाइनान्सका अध्यक्ष नै मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत भएको छ।

उल्लेखनीय रूपमा, नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षणका क्रममा पोखरा फाइनान्सलाई समस्याउन्मुख संस्था को रूपमा उल्लेख गर्दै कारबाहीका साथै सञ्चालन समितिलाई सचेत गराएको थियो।

त्यसपछि नियामकको कारबाहीबाट उम्कन मर्जरलाई एक विकल्पका रूपमा अघि सारिएको देखिन्छ। पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियामा जान २०८१ माघमा मर्जर–प्राप्ति समिति गठन गरेको थियो।

अब नियामक निकायको स्वीकृति र बाँकी प्रक्रिया पूरा भएपछि दुवै वित्तीय संस्था एकीकृत भएर सञ्चालनमा आउनेछन्।