काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार र सचिव डा. राजेन्द्र प्रसाद मिश्रले गत पुस १९देखि २० गतेसम्म बाँके र बर्दिया जिल्लामा रहेका मन्त्रालय अन्तर्गतका विभिन्न निकाय, कार्यक्रम तथा अनुसन्धान केन्द्रको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा मन्त्री तथा सचिवले किसानहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझावसमेत सुनेको मन्त्रालयले जनाएको छ।

अनुगमनका क्रममा बाँकेको खजुरास्थित कपास विकास समितिको प्रधान कार्यालय, कृषि अनुसन्धान निर्देशनालय र कोशेबाली अनुसन्धान कार्यक्रमको अवलोकन गरिएको थियो। लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको कपास विकास समिति र जीर्ण बन्दै गएका संरचनाहरूलाई पुनः चलायमान बनाउने विषयमा गम्भीर छलफल भएको छ। मन्त्री डा. परियारले समितिलाई तत्कालीन तथा दीर्घकालीन सुधार रणनीति तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् ।

बर्दियाको बढैयातालमा रहेको कल्पविक्ष मत्स्य सहकारी संस्थामा पुगेको टोलीले मत्स्य किसानहरूसँग अन्तरक्रिया गरेको थियो। सो क्रममा मत्स्य पालनमा प्रयोग हुने विद्युतका लागि कृषि मिटर र आवश्यक ट्रान्सफर्मरको माग उठेको थियो। मन्त्रालयले कृषि मिटर जडानका लागि पहल अघि बढाइसकेको र ट्रान्सफर्मर जडानमा आधा खर्च स्थानीय सहकारीले व्यहोर्ने गरी प्रक्रिया अगाडि बढाउन सकिने जानकारी गराइएको छ।

कृषि अनुसन्धान निर्देशनालय र कोशेबाली अनुसन्धान कार्यक्रमसँगको छलफलमा जनशक्ति अभावलगायतका विद्यमान समस्याबारे विस्तृत जानकारी लिइएको थियो। मन्त्रालयका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सम्बन्धी विनियम स्वीकृतिको अन्तिम चरणमा पुगेको र यसबाट अनुसन्धान संस्थाहरूमा देखिएका संरचनागत तथा जनशक्ति समस्याको समाधान हुने अपेक्षा गरिएको छ।

अनुगमन टोलीले बाँकेको तिलकपुरमा रहेको बी.बी.एस. राइस मिलको पनि अवलोकन गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा स्थानीय किसानद्वारा सञ्चालित उक्त राइस मिललाई कर्णाली प्रदेशका पहाडी भूगोल केन्द्रित गरी विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, कोहलपुरस्थित दुग्ध विकास संस्थानको अवलोकनका क्रममा उचित बजार व्यवस्थापन र किसानको मागलाई मध्यनजर गर्दै पाउडर प्लान्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाइएको छ। नेपालगञ्जस्थित एकीकृत जाँच चौकीमा रहेका संघीय निकायहरूसँग पनि कामको अवस्थाबारे छलफल तथा अवलोकन गरिएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालयको फ्युमिगेसन च्याम्बर स्थानान्तरणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ।

अनुगमनको अन्तिम चरणमा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि तथा किसानहरूसँग अन्तरक्रिया गरिएको थियो। सो अवसरमा मलको उपलब्धता, कृषि विद्युत मिटर, उत्पादनको बजारीकरण, कृषिमा अनुदानलगायत किसानले भोग्दै आएका विविध समस्याबारे छलफल भएको थियो।

मन्त्री डा. परियारले ती समस्याको समाधानका लागि मन्त्रालयले तयार पारेका भावी योजना र प्राथमिकताबारे जानकारी गराउँदै कृषक हितमा केन्द्रित नीतिगत सुधारमा जोड दिएकाे सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्