मंगलवार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने काँग्रेसको निर्णय


काठमाडाैँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलवार (भोली) उम्मेदवार टुङ्गो लगाउने भएको छ । 

सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुङ्गो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो ।

सो निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुङ्गो लगाउन मंगलवार पुनः ११  बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले आजको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरूसँग पार्टीको शिर्ष तहबाट छलफल भइराखेकाले भोली बैठक बसेर त्यस बारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए।

नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायतका नेताहरूसँग छलफल गरिरहेका छन् ।

नेपाली काँग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरूसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।