काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज अपरान्ह २ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी निर्वाचन केन्द्रित महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति तय गर्ने विषय प्रमुख एजेन्डाका रूपमा रहेको छ।
यसैगरी उम्मेदवार सिफारिस उपसमितिको दायरा विस्तार गर्ने, पार्टी समायोजन उपसमितिलाई थप व्यवस्थित बनाउने र केन्द्रीय समितिको संरचना विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
निर्वाचनलाई प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति गठन गर्ने, समानुपातिक उम्मेदवार परिचालनसम्बन्धी कार्यविधि तथा निर्वाचन स्रोत व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गर्ने तयारी पार्टीले गरेको छ।
साथै प्रदेशस्तरीय र जिल्ला स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत बैठकले निर्णय लिने अपेक्षा गरिएको छ।
स्थानीय तहको संगठन मजबुत बनाउन स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने प्रस्ताव पनि बैठकको छलफल सूचीमा समावेश गरिएको छ। पार्टी नेतृत्वले आजको बैठकबाट संगठन विस्तार र निर्वाचन तयारीलाई थप गति दिने निर्णय आउने विश्वास व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्