नेकपा (माओवादी)द्वारा दाङका तीनओटै निर्वाचन क्षेत्रबाट सर्वसम्मतिमा नाम सिफारिस


दाङ (देउखुरी ) । पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको विप्लव नेतृत्वको ने.क.पा. (माओवादी)ले दाङका तीनै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको सिफारिस गरेको छ । पार्टीले दाङका ३ ओटै निर्वाचन क्षेत्रबाट अनुभवी तथा चिनिएका नेताहरूलाई एकल सिफारिस गरेको छ ।

दाङ निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

अखिल (क्रान्तिकारी) को केन्द्रीय महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका शाही देउखुरी क्षेत्रका ऊर्जाशील युवा नेताका रूपमा परिचित छन् ।

राजनीति शास्त्रमा एमफिल उत्तीर्ण शाही हाल धानखोला–लमही चारलेन सडक संघर्ष समितिको संयोजकका रूपमा समेत भूमिका निर्वाह गरिरहेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं. २ बाट लामो समयदेखि पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय बालकृष्ण पोखरेल (सविन) पनि पार्टीबाट एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालिरहेका सविन यस क्षेत्रका अनुभवी र परिचित नेतामध्ये पर्छन् ।

दाङ निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शीतल) को नाम पनि सिफारिस भएको छ ।

माओवादी जनयुद्धकालदेखि नै भूमिगत तथा सक्रिय राजनीतिमा संलग्न शीतललाई पार्टीले अनुभवी नेतृत्वका रूपमा विश्वास गर्दै सिफारिस गरेको हो ।