काठमाडौँ । पाकिस्तान र बङ्गलादेश दीर्घकालीन रक्षा साझेदारीको प्रयास गरेका छन् ।
बङ्गलादेश वायुसेनाका प्रमुख एयर चीफ मार्सल हसन महमूद खान जनवरी ४ देखि ६ दिने पाकिस्तान भ्रमणमा छन् ।
उच्चस्तरीय प्रतिनिधिमण्डलसहित पाकिस्तान पुगेका बङ्गलादेशका वायुसेना प्रमखको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
पाकिस्तानी मिडियाले यसलाई दक्षिण एसियाको बदलिँदो रणनीतिक परिदृश्यलाई उजागर गर्ने एक महत्वपूर्ण घटना भनेका छन् ।
हवाई सुरक्षा कार्यक्रम र प्रविधिक सहकार्यलाई सुदृढ पार्ने विषयमा दुईदेशका वायुसेना प्रमुखबिच छलफल भएको छ ।
टाइम्स अफ इस्लामाबादले भनेको छ,“सन् २०२५ को सुरुदेखि दुवै देशबिचको सम्बन्धमा न्यानोपना देखिन्छ र द्विपक्षीय सैन्य सम्बन्धबिचमा भएको यो भ्रमणले ऐतिहासिक विभाजनलाई पार गर्दै दीर्घकालीन रक्षा साझेदारी निर्माण गर्ने साझा प्रतिबद्धतालाई देखाउँछ ।”
सन् १९७१ मा पाकिस्तान विभाजित भएर बङ्गलादेश बनेको थियो ।
बङ्गलादेश वायुसेनाका प्रमुख खानले उच्चस्तरीय प्रतिनिधिमण्डलसहित इस्लामाबादस्थित एयर मुख्यालयको भ्रमण गरेका छन् । उनले आफ्ना पाकिस्तानी समकक्ष एयर चीफ मार्सल जहीर अहमद बाबर सिद्दूसँग विस्तृत छलफल गरेका छन् ।
छलफलका क्रममा आपसी सहयोग, पाकिस्तान वायुसेनाबाट बङ्गलादेश वायुसेनालाई तालिम दिने विषयमा छलफल केन्द्रित थियो ।
पाकिस्तानी वायुसेना प्रमुख सिद्दूले बङ्गलादेशी वायुसेना प्रमुखको टोलीलाई पाकिस्तान वायुसेनाको हालैको क्षमतावृद्धिबारे जानकारी गराउँदै आधारभूत उडानदेखि विशेष तालिम उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
यो पहलले बङ्गलादेश वायुसेनाका जनशक्तिको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
तालिमपछि बङ्गलादेशको आधुनिक हवाई सञ्चालन र मर्मतसम्भार विशेषज्ञतालाई बृद्धि गर्ने रहेका कमीलाई सम्बोधन गर्ने विश्वास छ । यस्तो सहकार्यले रक्षा क्षेत्रको विज्ञता र सीप विकासका क्षेत्रमा पाकिस्तानको बढ्दो भूमिकालाई प्रतिबिम्बित गर्ने समाचारमा विश्लेषण गरिएको छ ।
यो छलफलको महत्पूर्ण पक्ष भने पाकिस्तानले बङ्गलादेशलाई सुपर मुस्साक प्रशिक्षण विमान छिटो उपलब्ध गराउने आश्वासन हो । यसमा पाइलट तालिम, प्राविधिक सहयोग र दीर्घकालीन मर्मतसम्भार सेवासहितको पूर्ण प्रणाली समावेश छ ।
पाकिस्तानमै निर्मितसुपर मुस्साक आधारभूत प्रशिक्षक विमानले विश्वभरका वायुसेनामा आधारभूत उडान सीप निर्माणमा प्रभावकारी मानिन्छ । पाकिस्तानको यो प्रतिबद्धताले बङ्गलादेशको तालिम पूर्वाधारको आधुनिकीकरणलाई तीव्र पार्ने र दुवै वायुसेनाबीच अन्तरसञ्चालन क्षमतालाई सुदृढ पार्ने अपेक्षा गरिएको छ ।
छलफलमा बङ्गलादेशले जेएफ–१७ लडाकु विमान खरिद गर्ने विषयले समेत प्रवेश पाएको छ ।
पाकिस्तान र चीनले संयुक्त रूपमा विकास गरेको यो विमान किफायती र प्रभाविकारी मानिन्छ । विश्लेषकहरूका अनुसार बङ्गलादेशको यो कदमले दक्षिण एसियाको हवाई शक्ति सन्तुलनमा ठुलो प्रभाव पार्न सक्छ ।
यो उच्चस्तरीय भेटवार्ता सन् २०२५ पछि बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनपछिका पारस्परिक सैन्य भ्रमणहरूको श्रृङ्खलाको एउटा हिस्सा हो ।
यसअघि भएका वरिष्ठ सेनाधिकारीबिच छलफलहरूले सैन्य सहकार्यको आधार तयार गरेको थियो ।
बङ्गलादेश वायुसेनाका प्रमुखको भ्रमण १९७१ मा पाकिस्तान विभाजनपछि पहिलोपटक भएको हो । यसले दुइदेशबिच बढ्दै गएको विश्वास र सहकार्यको महत्वपूर्ण पक्षलाई उजागर गरेको देखिन्छ ।
दुबैदेशको भारतसँग सम्बन्ध राम्रो छैन । भारतसँगको सम्बन्ध चिसिएका बेला दुईदेशबिचको रक्षा क्षेत्रमा रणनीतिक साझेदारीको प्रयास भएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्