काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परम्परागत खाद्य पदार्थ मस्यौराको शुद्धता, मौलिकता र उपभोक्ता स्वास्थ्य सुनिश्चित गर्न स्पष्ट गुणस्तर मापदण्ड तोकेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले मस्यौरासम्बन्धी मापदण्ड नेपाल राजपत्रमार्फत सार्वजनिक गरेको हो।
नयाँ मापदण्डअनुसार मस्यौरा भन्नाले कालो दाल (मास) वा अन्य दलहन भिजाएर बोक्रा हटाई पिसेर लेदो बनाई तयार गरिएको खाद्य पदार्थलाई बुझिन्छ।
यसमा पिँडालु, कर्कलो, तरुल, आलु, कुभिण्डो लगायतका तरकारी वा सागपात मिसाइएको वा नमिसाइएको हुन सक्छ। प्राकृतिक रूपमा किण्वन हुन दिई घाम, सोलार ड्रायर वा मेकानिकल विधिबाट सुकाएर तयार पारिएको मस्यौरा मात्र मान्य हुने व्यवस्था गरिएको छ।
मन्त्रालयले मस्यौराको मौलिकता जोगाउन केही सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। मापदण्डअनुसार मस्यौरामा अन्न, भटमास वा सोबाट बनेका कुनै पनि उत्पादन प्रयोग गर्न पाइने छैन। साथै, बाह्य रङ्ग (आर्टिफिसियल कलर) को प्रयोगसमेत पूर्ण रूपमा निषेध गरिएको छ।
गुणस्तर मापनका लागि प्राविधिक सूचक पनि तोकिएका छन्। मस्यौरामा जलांश बढीमा ११ प्रतिशतसम्म मात्र हुनुपर्नेछ। सुख्खा तौलको आधारमा कुल भष्म ४ प्रतिशतभन्दा बढी हुन नहुने र डाइलुट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्मको मात्रा ०.१५ प्रतिशतभन्दा बढी हुन नपाइने व्यवस्था गरिएको छ। यस्तै, कुल प्रोटिनको मात्रा सुख्खा तौलको आधारमा कम्तीमा १५ प्रतिशत हुनुपर्नेछ।
स्वच्छताका दृष्टिले मस्यौरा पूर्ण रूपमा सफा हुनुपर्ने र यसमा ढुसी लागेको, कीरा परेको, सडेको वा ओसिएको अवस्था स्वीकार्य नहुने स्पष्ट गरिएको छ।
ढुंगा, बालुवा, माटो, काँच, प्लास्टिकजस्ता अजैविक बाह्य पदार्थ तथा कपाल, रौँ, भुस, परालका टुक्रा, कीरा वा मुसाका अंशजस्ता जैविक बाह्य पदार्थ पूर्ण रूपमा निषेध गरिएको छ। यसका साथै जीवनाशक विषादीको अवशेष, हेभी मेटल्स र टक्सिन्सको मात्रा सरकारले तोकेको सीमाभित्र हुनुपर्नेछ।
प्याकेजिङ र लेबलिङमा पनि कडाइ गरिएको छ। मस्यौरालाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द गरी बिक्री गर्नुपर्नेछ। प्याकेटको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक सबै विवरण र प्रयोग गरिएका सममिश्रणहरूको स्पष्ट जानकारी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो मापदण्ड नेपाल राजपत्रमा प्रकाशन भएको मितिले ९१ औँ दिनदेखि लागू हुनेछ। मन्त्रालयका अनुसार यसले बजारमा पाइने मस्यौराको शुद्धता र गुणस्तर सुनिश्चित गर्दै उपभोक्ताको स्वास्थ्य रक्षा गर्नुका साथै परम्परागत नेपाली खाद्य वस्तुको मौलिकता जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
दूधमा पानी वा अन्य मिसावट रोक्न जस्तै स्पष्ट मापदण्ड आवश्यक पर्छ, त्यसैगरी यो व्यवस्थाले मस्यौरामा भटमास वा अन्न मिसाएर गरिने चलखेललाई पूर्ण रूपमा नियन्त्रण गर्ने विश्वास सरकारको छ।



प्रतिक्रिया दिनुहोस्