वीरगञ्जमा आन्दोलन नगर्ने प्रतिबद्धता, कर्फ्यु आदेश हटाइयो


काठमाडाैँ । वीरगञ्जमा बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले हालका लागि कुनै पनि प्रकारका आन्दोलन वा प्रदर्शन नगर्ने निर्णय गरेको छ। जिल्लामा शान्ति–सुव्यवस्था कायम राख्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार विगत केही दिनदेखि देखिएको विरोध गतिविधिलाई मध्यनजर गर्दै बैठक बोलाइएको थियो।

बैठकले अन्य मुलुक वा स्थानमा भएका घटना तथा दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा आन्दोलन तथा प्रदर्शन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पीडित पक्षले यदि आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था आएमा त्यसअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुका साथै प्रशासनसमक्ष ज्ञापनपत्र पेश गर्नुपर्ने निर्णय गरिएको छ। ज्ञापनपत्र पेश भएपछि मात्र आन्दोलनका कार्यक्रम अघि बढाउन सकिने स्पष्ट गरिएको छ।

भविष्यमा हुनसक्ने धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न र आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्ला सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार संयन्त्रमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधि रहनेछन्।

धार्मिक समुदायतर्फ हिन्दु समुदायबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुव अली शेरु र अली अस्गर मदानी सदस्य रहने निर्णय भएको छ।

आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधिलाई पनि समेटिने जनाइएको छ। साथै जिल्लास्थित प्रत्येक राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

बैठकले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सामाजिक सद्भावमा खलल नपुग्ने गरी संयमता अपनाउन अनुरोध गरेको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव विथोल्ने गतिविधिमा संलग्न समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको छ।

बैठकमा सहभागी सबै पक्षले आ–आफ्नो समुदायभित्र देखिएका कमजोरीको आत्मसमीक्षा गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन्। साथै बैठकका निर्णयलाई आ–आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गर्दै निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति भएको छ।

यसैबिच जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रशासनले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको जानकारी दिएको हो।

सर्वपक्षीय बैठकपछि जिल्लाको शान्ति–सुव्यवस्था क्रमशः सुधार हुँदै गएको निष्कर्षका आधारमा कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ। यसअघि सोमबारदेखि वीरगञ्जमा कर्फ्यु आदेश लागू गरिएको थियो।