काठमाडौा । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले प्रत्येक नागरिकलाई स्वच्छ हावा उपलब्ध गराउनु सरकारको संवैधानिक दायित्व भएको स्पष्ट पारेका छन् ।
मंगलबार सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा आयोजित काठमाडौा उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयन अवस्थासम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै मन्त्री चौलागाईंले नेपाल स्वच्छ हावाको हबका रूपमा परिचित रहेको उल्लेख गर्दै वायु गुणस्तर सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उहाँले वातावरण नीति र वातावरण संरक्षण ऐनको मर्मअनुसार काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मै तयार भइसकेको स्मरण गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
मन्त्रालय, विभाग तथा सरोकारवाला निकायहरू उक्त कार्ययोजनाका मुख्य हिस्सेदार भएकाले सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री चौलागाईंले फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रण र हरियाली प्रवर्द्धनलाई वायु गुणस्तर सुधारका प्रमुख आधारका रूपमा उल्लेख गरे। यी क्षेत्रमा ठोस परिणाम हासिल गर्न कार्ययोजनाको पूर्ण रूपमा कार्यान्वयन अपरिहार्य रहेको उनले बताए ।
वातावरणीय समस्या समाधानका सन्दर्भमा मन्त्री चौलागाईंले सकिने काम तत्काल अघि बढाउन र नसकिने विषयमा खुला बहस गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, वायु प्रदूषण नियन्त्रणका लागि आगलागी तथा डढेलोजस्ता घटनाहरू रोक्न सम्बन्धित निकायहरूले आवश्यक कदम चाल्नुपर्नेमा पनि उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्