काठमाडाैँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पार्टी केन्द्रीय कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहारलाई कार्यकर्ताको ‘अन्तरआत्माको भावना’ का रूपमा व्याख्या गर्दै उक्त घटनाको जिम्मेवारी आफूहरूले नलिने स्पष्ट पारेको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यसम्पादन समिति बैठकमा सहभागी हुन गएका नेता निधिलाई बाटो छेकेर गरिएको दुव्र्यवहारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे। उनीहरूले घटनालाई स्वतःस्फूर्त रूपमा घटेको भन्दै त्यसको आयोजना, निर्देशन वा समर्थन आफूहरूको तर्फबाट नभएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले पार्टी कार्यालयमा भएको घटना योजनाबद्ध नभई कार्यकर्ताको भावनात्मक अभिव्यक्ति मात्र भएको उल्लेख गरे।
उनले विशेष महाधिवेशन पक्षधर समूह त्यस्ता गतिविधिमा संलग्न नहुने र समर्थन पनि नगर्ने स्पष्ट पारे। तर, लोकतन्त्र, पार्टी र आधुनिक नेपाली समाज निर्माणका लागि कार्यकर्तामा रहेको प्रतिबद्धता र भावनालाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो। नेतृत्वले यस्ता आवाजलाई धैर्यपूर्वक सुन्नुपर्नेमा पनि उनले जोड दिए ।
यसैबिच, नेता पोखरेलले विशेष महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार महाधिवेशन सफल बनाउन विभिन्न १८ वटा समिति गठन गरिएको छ। विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ आउन पनि उनले आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्