काठमाडाैँ । सडक विभागका वातावरण निरीक्षक मनोज अर्यालले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण केवल यातायात नभएको स्पष्ट पारेका छन्।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्था सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै अर्यालले चैत–वैशाखतिर वायु प्रदूषण अत्यधिक बढ्दा र न्यून हुँदा पनि यातायातका साधनको संख्या उस्तै रहने तथ्यले यातायात मात्रै मुख्य कारक नभएको देखाएको बताए।
उनले वायु प्रदूषणमा यातायातको भूमिका भए पनि सम्पूर्ण दोष यातायातलाई मात्र दिनु उचित नभएको उल्लेख गर्दै, यसलाई नियन्त्रण गर्न सरकारले कर तथा भन्सार नीतिको पुनरावलोकन गरी विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गरिरहेको जानकारी दिए।
अर्यालका अनुसार, गत आर्थिक वर्षमा सवारी आयातमध्ये दुई तिहाइभन्दा बढी विद्युतीय सवारी रहेका छन्। उनले भने, “उपत्यकाको वातावरण प्रदूषण चैत–वैशाखतिर उच्च तहमा पुग्दा र न्यून हुँदा पनि यातायातका साधन बराबर नै हुँदा वायु प्रदूषण बढ्नुमा केवल यातायात मुख्य कारक होइन। हामीले कर र भन्सार नीतिमा सुधार गरेर ईभीलाई सहजता दिएका छौं। हाल मास ट्रान्सपोर्टमा पनि ईभी प्रयोग गर्न नेपाल र चीन सरकारबीच छलफल भएको छ र चीन सरकारले १ सय विद्युतीय बस उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अहिले ४० वटा विद्युतीय बस सञ्चालनमा छन्।”
अर्यालले आगामी दिनमा मास ट्रान्सपोर्टेसनमा पनि विद्युतीय बस प्रयोग बढाएर काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने योजना रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्