काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ।
बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरिएको हो।
काठमाडौँमा आयोजित विशेष समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीलाई सम्मान गरेका हुन्।
सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै सेवाहरूलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने बताए।
उनले १९ वर्षअघि १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमै आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल भएको बताए।
उनले बैंक वा कुनै पनि संस्था सफल हुन नेतृत्वसँगै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलताको उत्तिकै महत्त्व हुने उल्लेख गर्दै सम्पूर्ण कर्मचारीलाई अझ लगनशील भएर आफ्नो कर्तव्य पालन गर्न आग्रह गरे।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफूले पुर्याएको विशेष योगदानप्रति सबै कर्मचारीलाई धन्यवादसमेत व्यक्त गरे।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले सेवाहरूलाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै डिजिटल युगअनुसार समयसापेक्ष सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी वर्षहरूमा ग्राहक सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकलाई विश्वभरबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै बैंकले नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्