काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शिर्षकमा १० हजार मात्रै छुट्टाएको जानकारी गराएका छन् ।
नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले विदेशी मुद्रा भित्राउन निर्यातले विशेष भुमिका खेले पनि तत्कालिन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई अनुदान दिन नसकेको समेत बताएका छन् ।
उनले अघिल्लो सरकारले निर्यात अनुदान शिर्षकमा १० हजार रुपैयाँमात्रै छुट्टाएका कारण अनुदान दिनसक्ने अवस्था नरहेको बताए ।
उनले भने,“मैले उद्योगमन्त्रीका रुपमा सपथ गरेको भोलीपल्ट नै व्यवसायीलाई अब यस वर्षको निमित्त निर्यात छैन भनेर जानकारी दिनुपर्ने स्थिति आयो । जेठमा आएको बजेटमा निर्यात अनुदानमा आएको शिर्षकमा जम्मा १० हजार छुट्इएको रहेछ । यति धेरै दिनसम्म व्यवसायीहरुले पनि अध्ययन गरेका रहेनछन् । यो कुरा व्यवसायीलाई थाहै रहेनछ ।”
मन्त्री सिन्हाले नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि तयार गर्न लागिएको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताए । उनले ‘मेक इन नेपाल, मेड इन नेपाल’जस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
सिन्हाकाअनुसार गुणस्तर परिक्षणका लागि प्रयोगशालाको स्तरोन्नती गर्ने काम भइरहेको छ । गुणस्तर विभाग जलेका कारणले शुन्यबाट काम शुरु गर्नुपर्ने अवस्थाले गर्दा पनि केही चुनौति थपिएको सिन्हाले बताए ।



प्रतिक्रिया दिनुहोस्