काठमाडौँ । कच्चा पदार्थमा लाग्दै आएको भ्याटले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरेको भन्दै त्यसलाई हटाउनुपर्ने निजी क्षेत्रका अगुवाहरूले माग गरेका छन् ।
नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजीका प्रतिनिधिहरूले निर्यात उद्योगमा परिरहेको असरका बारेमा राज्य गम्भीर रहन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।
उनकाअनुसार उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरिनु हुँदैन ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,“उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरियो भन्ने कुरा छ । यसमा पुनरावलोकन गर्नुपर्छ । भ्याटलाई हटाउनुपर्छ ।”
नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी रहेको बताए ।
उनले भने,“वाह्य क्षेत्र राम्रो देखिएपनि आन्तरीक रुपमा निकै समस्या छ । उद्योगहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । खपत बढाउने नीति लिनुपर्छ ।”
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष, सुरेन्द्रकुमार श्रेष्ठले उत्पादनदेखि बजारीकरणमा रहेको निजी क्षेत्रलाई उकास्न राज्यले जोड दिनुपर्ने बताए ।
उनकाअनुसार निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिएर अघि बढाउनुपर्छ ।
उपाध्यक्ष श्रेष्ठले भने,“निजी क्षेत्रले अहिलेसम्म पुँजी लगानी गर्ने वातावरण बन्नसकेको छैन । यस्तो अवस्थामा विदेशीले कसरी नेपालमा लगानी गर्छन् ? गम्भीर प्रश्न बनेको छ । आज अर्थतन्त्रको झन्डै ८१ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ ।”
अहिलेपनि उद्योगहरू लगानीयोग्य रकमको अभावमा छट्पटिनु परिरहेको बताउँदै श्रेष्ठले बैंकमा थ्रुप्रिएको लगानी योग्य रकमलाई सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्