राष्ट्रिय सभा निर्वाचनः काँग्रेस ९, एमाले ८ र लोसपालाई १ सिट


काठमाडौँ । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रूपमा प्रतिष्पर्धा गर्ने भएका छन्। बुधबार बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन दलबिच तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो।

काँग्रेस नेता मिनबहादुर विश्वकर्माका अनुसार सिट बाँडफाँडमा सहमति भइसकेको छ। सहमतिअनुसार काँग्रेसले ९ सिट, एमालेले ८ सिट र लोसपाले १ सिट लिनेछन्। आजै मनोनयन दर्ता गर्नुपर्ने भएकाले अन्य दलसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए ।

काँग्रेसले पाएको ९ सिटमध्ये कोशी प्रदेशबाट सुनिल थापा उम्मेदवार छन्। मधेस प्रदेशतर्फ दलित र अल्पसंख्यक समूहका लागि काँग्रेसले उम्मेदवारी दिएको छ।

अल्पसंख्यकतर्फ रञ्जित कर्ण र दलिततर्फ रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको छ। वागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी र वासुदेव जंगली, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन् ।

नेता विश्वकर्माले अन्य राजनीतिक दलसँग विभिन्न विषयमा सहमति हुन नसकेपछि काँग्रेस र एमालेले लोसपासँग तालमेल गर्दै निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पारे । उनका अनुसार तीन दलबिचको सहकार्यले राष्ट्रिय सभा निर्वाचनमा प्रभावकारी प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।