काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध संगठित रूपमा घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय पार्टीभित्र प्रक्रिया र विधानलाई बेवास्ता गर्दै संख्याको दम्भका आधारमा महामन्त्रीहरूमाथि प्रहार भइरहेको बताएका हुन्।
महामन्त्री थापाले नेतृत्व तहका केही व्यक्तिहरूले आफूहरूलाई कर्नर गर्ने र एक्ल्याउने प्रयास गरिरहेको दाबी गरे। उनका अनुसार पार्टीभित्र निर्णय प्रक्रियामा विधानअनुसार चल्ने अभ्यास कमजोर बन्दै गएको छ भने संख्या बलका आधारमा असहमत आवाज दबाउने प्रवृत्ति बढ्दै गएको छ।
उनले पार्टी कार्यालयभित्र देखिने घेराबन्दी सीमित भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको घेरा धेरै ठूलो रहेको उल्लेख गरे । पार्टीलाई साँघुरो घेराभित्र सीमित गर्न खोज्दा आफूहरू झन् ठूलो घेरातर्फ धकेलिँदै गएको थापाको भनाइ छ। उनले आम नागरिक र कार्यकर्ताले नै यस विषयको अन्तिम छिनोफानो गर्ने विश्वास व्यक्त गरे ।
महामन्त्री थापाले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, विधि र प्रक्रियालाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरे। संख्या बलका आधारमा दम्भ देखाएर महामन्त्रीहरूलाई घेराबन्दी गर्ने प्रवृत्तिले पार्टीलाई नै कमजोर बनाउने उनको चेतावनी थियो।



प्रतिक्रिया दिनुहोस्