मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।

बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए।

आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरूले झुटो समाचार संप्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे। 

मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचारमात्रै संप्रेषण गर्न पनि सञ्चार माध्यामहरूलाई आग्रह गरे।