काठमाडौँ। विश्वव्यापी रुपमा बढ्दै गएको आर्टिफिसयल इन्टेलिजेन्स अर्थात् एआई प्रविधिलाई नेपालको आवश्यकताअनुसार अवलम्बन गर्न जति ढिलाइ हुँदै गयो उति नै यस क्षेत्रबाट प्राप्त हुने लाभ गुम्दै जाने सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञहरूले बताएका छन्।
ड्रुकर लिडर्स एकेडेमी, नामी र ट्यान्जिबल करिअरद्वारा संयुक्त रुपमा आयोजित एआई र भविष्यको नेतृत्वबारे कार्यशालामा विज्ञहरूले विशेषगरि नेपालले सूचना प्रविधिसँगै बैंकिङ र अन्य वित्तीय क्षेत्रमा एआईको अनुकूल प्रयोग बढाउनका लागि लगानी बढाउनु पर्नेमा जोड दिए।
बैंकहरूको व्यवस्थापनले विशेषतः प्रविधिमाथिका लगानीलाई अवसरका रुपमा नभइ खर्चका रुपमा हेर्ने प्रवृतिले प्रविधिजन्य स्तरोन्नति र एआईजस्ता प्रविधिको उपयोगमा बाधा पुग्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले डिजिटल प्रविधिको विकासलाई आत्मसात गर्दै नियामकीय तथा सुपरिवेक्षकीय व्यवट्ठथामा एआईको उपयोगबारे नीति बनाइसकेको जानकारी दिए।
नास-आईटीका अध्यक्ष एवं इकवानाका प्रमुख कार्यकारी गौरव पाण्डले विश्वभरिको औद्योगिक विकासको चरण अगाडि बढ्ने क्रममा हाल सूचना तथा प्रविधिले हाँकेको इन्डस्ट्री फोर प्वाइन्ट जीरोले संरचनागत रुपान्तरण ल्याइसकेको भन्दै अब एआईमा लगानी गर्न ढिला गर्न नहुनेमा जोड दिए।
नामी एकेडेमीका संस्थापक निर्देशक डा. विशाल खनालले नेपालबाटै सूचना प्रविधि क्षेत्रको ब्रान्डिङ गर्न थालिएको एआई स्कुल कार्यक्रममा यस वर्ष १५ मुलुकका २२० जनाले सहभागिता जनाउने जानकारी दिए।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले सरकारले राष्ट्रिय एआई नीति बनाइसकेको जानकारी दिँदै यस क्षेत्रका अन्य ऐन-कानुन र व्यवस्थाहरूमा पनि समायानुकूल समायोजन गर्दै लगिने बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डा. फ्रान्सिस रेमानु, डा. भर्जनिया डिग्नम लगायका वक्ताले विश्वव्यापी रुपमा एआईले ल्याएको क्रान्तिसँगै नेपालले गर्नुपर्ने प्रणाली नियमन र नियामकीय सुधारका बारे चर्चा गरेका थिए भने ड्रुकर लिडर्स एकेडेमीका वरिष्ठ उपाध्यक्ष प्रवीणराज पोखरेलले नेपालको बैंकिङ प्रणालीमा प्रविधिको विकासक्रमबारे कार्यपत्र पेश गरेका थिए ।
कार्यशालामा बैंकिङ, नियामकीय र प्राज्ञिक क्षेत्रबाट सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्