सरकारले तोक्यो छुर्पीको नयाँ गुणस्तर,अन्तर्राष्ट्रिय बजारमा पहिचान सुरक्षित हुने अपेक्षा


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को अधिकार प्रयोग गर्दै छुर्पीको लागि नयाँ गुणस्तर मापदण्ड तोकेको छ। राजपत्रमा प्रकाशित यो मापदण्डले नेपाली छुर्पीको गुणस्तर सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान सुरक्षित बनाउने लक्ष्य राखेको छ।

नयाँ मापदण्ड अनुसार गाई, चौंरीगाई वा भैंसीको दूधबाट उत्पादित सबै प्रकारका छुर्पीमा लागू हुने गरी नियम बनाइएको छ। स्थानीय रूपमा दुरुखा, दुरुख्वा, दुर्खा वा च्यु भनेर चिनिने छुर्पी दूध उमालेर, फिटेर निस्केको छेनालाई निश्चित चापमा थिचेर र सुकाएर तयार गरिन्छ।

छुर्पीलाई दूधमा रहेको चिल्लो पदार्थको आधारमा दुई वर्गमा बाँडिएको छ। जसमा घृतांशयुक्त छुर्पीमा चिल्लो पदार्थ ५ प्रतिशत वा बढी हुने छ भने कम घृतांशयुक्त छुर्पीमा पाँच प्रतिशतभन्दा कम हुने गरी तोकिएको छ। कम घृतांशयुक्त छुर्पी प्रायः ‘डग च्यु’ का लागि प्रयोग गरिन्छ।

मापदण्ड अनुसार छुर्पीमा ओस १४ प्रतिशतभन्दा बढी हुन नपाइने, कुल प्रोटिन सुख्खा तौलको आधारमा कम्तीमा ६० प्रतिशत र कुल भष्म बढीमा ७ प्रतिशत हुनुपर्ने उल्लेख गरिएको छ।

छुर्पीमा कुनै प्रकारको अखाद्य रङ्ग प्रयोग गर्न नपाइने, ढुङ्गा, बालुवा, काँच, प्लास्टिक, कपाल, भुस, पराल, किरा वा मुसा जस्ता जैविक र अजैविक वस्तुहरू नरहनुपर्ने व्यवस्था गरिएको छ। ई.कोलि र साल्मोनेला जस्ता सूक्ष्मजीव पूर्ण रूपमा अनुपस्थित हुनुपर्ने र कुनै पनि विषादी, हेभी मेटल वा टक्सिन सरकारले तोकेको सीमाभन्दा बढी नहुने प्रावधान राखिएको छ।

प्याकेजिङ तथा लेबलिङमा छुर्पीलाई खाद्य ग्रेड प्याकेजिङमा बन्द गर्नुपर्ने र प्याकेटमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार आवश्यक विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने आदेश जारी गरिएको छ ।