काठमाडाैँ । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफूले लिएको राजीनामाको निर्णय भाग्न र जिम्मेवारीबाट विमुख हुनका लागि नभएको स्पष्ट पारेका छन् ।
बुधवार पदबाट राजीनामा दिदैँ मन्त्री घिसिङले राजीनामाको निर्णय आफ्नो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिवद्धताको निरन्तरता भएको बताएका हुन् ।
पदमा रहँदा मात्रै नभइ पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य भएको जिकिर गरे। पद भन्दा ठूलो मूल्य र सिद्धान्त हुने भन्दै उनले कुर्सी भन्दा माथि आत्मसम्मान हुने बताए।
उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबिच भएको सहमतिमा आफ्नो नाम उल्लेख भएको भएपनि उक्त सहमति हालसम्म कार्यान्वयनमा नआएको बताए ।
आफ्नो समर्थन र सद्भाव रहँदा रहँदै पनि अहिलेसम्म आफूले कुनै राजनीतिक दलको सदस्यता नलिएको बताए । राजनीतिक जीवनमा प्रवेश गरेपछि मात्रै राजनीतिक सदस्यता लिने आफ्नो स्पष्ट अडान रहेको उल्लेख गरे । राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रुपमा भ्रामक समाचार प्रशारण गरिएको बताए ।
सत्य सधैँ प्रचार भन्दा बलियो हुने जिकिर गरे। पदमा रहँदै निर्वाचन लडेको इतिहास नेपालकै रहेको भन्दै आफूले मन्त्री हुँदा पद भन्दा जनतालाई प्राथमिकता दिएर काम गरेको दाबी गरे।
उनले छोटो समयमा पनि महत्वपूर्ण नीतिगत सुधारहरुको बलियो जग बसालेको बताए । इमान्दार प्रयास गरे परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास जनतामा जगाउन सकिएको जिकिर गरे ।
मन्त्री घिसिङले सुशासनको जग बसाउन आफूहरू सफल भएको समेत बताए । नविनतम यान्त्रिक प्रविधिको प्रयोग गरी सिंचाई सुविधाको व्यवस्था आफूले गरेको बताए । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय १५ दिनपछि पदबाट राजीनामा दिएको बताए ।



प्रतिक्रिया दिनुहोस्