निर्वाचन प्रहरीमा भर्ना खुल्यो, केके छ सुविधा ?


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान भएको छ ।

नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै आज सूचना प्रकाशन गरेको हो ।

भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागका सूचनामा उल्लेख छ ।

काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने विभागले जनाएको छ ।

भर्ना हुन साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् ।

माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

छनौट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्ने छ ।

निर्वाचन प्रहरीको समय ४० दिनको हुने छ । चालिस दिनमा निर्वाचन प्रहरीले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् ।

त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ ।