निर्वाचनमा काँग्रेस–एमालेसँग मिल्ने कुरा पार्टीपंक्ति र जनताले मन पराएका छैनन्ः अग्नि सापकोटा


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएको बताएका छन् ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रूपमा नलिएको बताएका हुन् । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रश्ताव पार्टीले अघि सारेको भएपनि काँग्रेस–एमाले त्यसका लागि तयार नभएको पनि बताए ।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पारे । उनले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिएपनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताए । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उनको भनाइ छ । 

विगतमा अन्य राजनीतिक दलहरूसँग गठबन्धन गर्न आफूहरूको पहचिान स्थापित हुन नसकेको उनको स्वीकारोक्ति छ । उहाँले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गर्नुभयो । उनले भर्खरै एकतामा गएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गरे।

राजनीतिक दलहरूमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उहाँको जिकिर छ । सापकोटाले महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताए । यद्यपि पार्टी विभाजन हुनुभन्दा एकतावद्ध हुनु पार्टीका लागि लागि हितकर हुने भन्दै विभाजिततर्फ नजान आग्रह गरे ।

नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकलाई निकाश दिनसक्ने उनको भनाइ छ ।