काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरूको वर्चस्व रहने दाबी गरेका छन् ।
आज मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरूको वर्चस्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे ।
उनले भने,“चुनाव हुन्छ फागुन २१ मा । चुनाव भएपछि तपाईहरूलाई एउटा कुरा भनौँ–मेरो विचारमा जुनसुकै पार्टीले पनि अहिले कोटा तोकेको छ,युवाहरूका लागि । यो हामी आशा गर्ने ठाउँ हो । मैले यो फेक धरातलमा भनेको होइन । यस पटक पार्लियामेन्टमा वा गोभरर्मेन्टमा जुनसुकै पार्टीबाट आएपनि युवाहरुको यस्तो वर्चस्व हुनेवाला छ ।”
उनले संसद र सरकार दुवैमा युवाहरुको वर्चस्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताए ।
मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सूचना प्रविधि विभागले चाहेजति काम गर्नसक्ने अवस्था नभएकोतर्फ आफू सचेत रहेको पनि बताए ।
उनले स्रोत र साधनको अभावमा आफूले पनि मातहतका निकायलाई काम गर्न निर्देशन दिने अवस्था नभएको पनि स्वीकार गरे।


प्रतिक्रिया दिनुहोस्