नेसनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक, २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक बचत


काठमाडाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेसनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको प्रतिवेदनले २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक बचत हुने गरेको देखाएको छ ।

प्रतिवेदनअनुसार नेपालको २०७८/७९ को नेशनल ट्रान्सफर एकाउण्ट अनुमानले जनसांख्यिक परिवर्तनका आर्थिक प्रभावहरू स्पष्ट देखाएको हो । सोही अनुमानअनुसार २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक बचत देखिन्छ । तर युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटाको उच्च रूप रहेको देखाएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्कअधिकारी ढुण्डिराज लामिछानेले अधिकतम प्रतिव्यक्ति घाटा ८७ वर्षको उमेरमा पाइएको बताए । श्रम आम्दानी र उपभोगबिचको ठूलो असन्तुलन देखाउँछ । मानव पुँजी निर्माणमा सरकारी प्रयासको दायरा वृद्धि गर्नका लागि यो सूचनाले प्रशस्त मार्गदर्शन गर्ने लामिछानेको भनाइ छ । 

लामिछानेकाअनुसार नेपालको काम गर्ने उमेर समूहको श्रम बजार सहभागिता अभिवृद्धि गर्न, सीप विकासलाई प्रवद्र्धन गर्न तथा सामाजिक सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकतालाई यस अनुमानले स्पष्ट दिशानिर्देश गर्नेछ । यसरी, नेशनल ट्रान्सफर एकाउण्टबाट प्राप्त अन्तरदृष्टिको माध्यमबाट अन्तरपीढी आर्थिक स्थायित्व सुनिश्चित गर्ने आधारहरू तयार गर्न सकिनेछ । 

आगामी दिनहरूमा नेशनल ट्रान्सफर एकाउण्ट अनुमान कार्यमा थप अध्ययन अनुसन्धान गरी सम्पतीमा आधारित पुनर्वितरण र हस्तान्तरण समेतको आर्थिक प्रवाहको समग्र चित्र तयार गर्नुपर्ने, तथ्याङ्ककाे नियमित आपुर्तिका लागि श्रम तथ्यांक र उपभोग खर्च सर्वेक्षण आवधिक रूपमा नियमित सञ्चालन गरी नेसनल ट्रान्सफर एकाउण्टको विस्तृत खाका तयार गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

यसका लागि राष्ट्रिय लेखाका अनुमानहरू समेतको सुदृढीकरण आवश्यक पर्ने र नेशनल ट्रान्सफर एकाउण्टलाई थप खण्डिकृतस्तरबाट विश्लेषण गर्दै लैङ्गिक सवाल र अन्य सामाजिक सवालहरूमा प्राज्ञिक पृष्ठपोषण उपलब्ध गराउन सकिने निष्कर्श प्रतिवेदनको छ ।