निर्वाचन सुरक्षा सुदृढ पार्न ‘निर्वाचन प्रहरी’को भर्ना प्रक्रिया धमाधम सुरू


काठमाडाैँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने तयारीलाई तीव्रता दिएको छ। यसका लागि नेपाल प्रहरीले शुक्रबारदेखि देशभर ‘निर्वाचन प्रहरी’ (साविकको म्यादी प्रहरी) भर्ना प्रक्रिया सुरू गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य राखिएको छ। यसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बलले १५ हजार ११० जनाको कोटा पाएको छ। गृह मन्त्रालयको स्वीकृतिपछि नेपाल प्रहरीले पुस २५ गतेदेखि आवेदन प्रक्रिया सुरू गरेको हो।

देशभरका जिल्ला प्रहरी कार्यालयमा इच्छुक उम्मेदवारहरूको लाम लाग्न थालेको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसर र उपत्यका बाहिरका सबै जिल्ला प्रहरी कार्यालयमा स्वयं उपस्थित भई आवेदन बुझाउन सकिने व्यवस्था मिलाइएको छ। आवेदन दिने अन्तिम मिति माघ १ गते तोकिएको छ भने सार्वजनिक बिदाको दिन पनि फारम बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ।

निर्वाचन प्रहरी बन्न इच्छुकले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। शैक्षिक योग्यता साधारण लेखपढ जान्ने भए पुग्छ।

साथै उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, फौजदारी अभियोग नलागेको र शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त हुनु अनिवार्य छ। भर्ना प्रक्रिया धमाधम अघि बढेपछि निर्वाचनको माहोल देशभर तात्न सुरु भएको छ।