‘निर्वाचनमा शान्ति सुरक्षा सुनिश्चित छ, करिब ५ लाख जनशक्ति परिचालन हुन्छन्’


काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्ति सुरक्षाको अवस्था प्रभावित नहुने स्पष्ट पारेका छन्। आयोगले सोमबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा भण्डारीले निर्वाचनमा शान्ति सुरक्षा सम्बन्धी कुनै आशंका नपार्न आग्रह गरेका हुन् ।

भण्डारीका अनुसार निर्वाचनमा करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिनेछ। उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बाबजुद सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आगामी निर्वाचन पनि भयरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले विगतमा पनि ‘निर्वाचन हुन्छ कि हुँदैन?’ भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म चलेको भए पनि निर्वाचन बाहेक कुनै विकल्प नभएकोले तोकिएको समयमा नै निर्वाचन हुने उल्लेख गरे । भण्डारीले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल भइसकेको जानकारी दिए ।

उनले भने, “शान्ति सुरक्षामा कुनै कमी कमजोरी छ कि भनेर आशंका गर्नुपर्ने अवस्था छैन। सरकार र सुरक्षा निकायका प्रमुखहरूले पूर्ण प्रत्याभूति दिएका छन्। विगतमा पनि निर्वाचन विथोल्ने शक्ति र हतियार भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएको स्मरण गरौँ। अहिले त्यस्तो खतराको अवस्था महशुस गरिएको छैन।”

भण्डारीले थपे, “शान्ति सुरक्षा भंग भएको समाजमा मात्र निर्वाचन हुँदैन भन्ने हामी सबैको साझा धारणा हो। त्यसैले अहिले विशेष परिस्थितिमा सर्तकता अपनाएर निर्वाचन सम्पन्न गर्न आवश्यक छ।”

उनले निर्वाचनको व्यवस्थापनसम्बन्धी सबै तयारी आयोगले पूरा गरेको र हाल राष्ट्रिय सभा सदस्य निर्वाचन तथा प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष निर्वाचन एकसाथ सञ्चालन भइरहेको जानकारी पनि दिए ।

उनले द्वन्द्व र अस्थिरताबाट गुज्रिएको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनु आवश्यक रहेकोमा जोड दिए ।