काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रका यावत क्षेत्रलाई दलीय प्रभाव, दबाव र कब्जाबाट मुक्त पार्ने प्रस्ताव पेश गरेका छन् ।
काठमाडौँमा जारी विशेष महाधिवेशनको बन्दशत्रमा पेश भएको समसामायिक राजनीतिक प्रस्तावमा अर्थतन्त्रका यावत क्षेत्रलाई दलीय प्रभाव, दबाव र कब्जाबाट मुक्त पार्दै, नवीन अवसरहरूको सिर्जना, उत्पादनशील अर्थतन्त्रको विकास र समन्यायिक वितरणको मार्ग प्रशस्तको प्रस्ताव छ ।
आम नेपाली जनताको सम्मानलाई स्थापित गराउन आर्थिक अभाव र विपन्नताको चक्रबाट मुक्त गरी समुन्नत नेपालको निर्माणको नेतृत्व गर्नु अबको मुख्य लक्ष्य र अविचलित गन्तव्य हुने महामन्त्री थापाको प्रस्तावमा उल्लेख छ ।
नेपाली कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन लगायतका क्षेत्रमा नीति र कार्ययोजना तयार गरी त्यसको स्पष्ट खाका सहित समुन्नतीको यात्रा तय गर्ने प्रस्तावमा उलेख छ ।
प्रस्तावमा भनिएको छ,“ समुन्नत नेपाल आर्थिक प्रगतिको समावेशी लाभ आम नागरिकले उठाउन सक्ने वातावरणले मात्रै समुन्नत नेपालको सपना साकार बनाउन सकिन्छ । स्वदेशमा नै योग्यता अनुसारको मर्यादित रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न सके मात्र नेपालीको समग्र आर्थिक स्तर उठाउन सकिन्छ ।”
नेपालको विशेषताहरूको पहिचान गरी नीति र व्यवहारमा सुधार ल्याउन सके यो सम्भव रहेको समसामायिक राजनीतिक प्रस्तावमा उल्लेख छ ।
प्रस्तावमा भनिएको छ,“नीतिगत सुधार र हस्तक्षेपले त्यो गर्न सकिदो रहेछ भन्ने हाम्रो अनुभवले पनि देखाएको छ । यसलाई अझै व्यापक सुदृध र दिगो बनाउन सके दोहोरो अङ्क नजिकको आर्थिक विकास सम्भव छ र नेपाल केहि वर्षभित्रै विकासशील देश हुनेछ ।”


प्रतिक्रिया दिनुहोस्