काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच काठमाडौँ उपत्यकामा कार्यरत १ हजार ६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप तथा नयाँ सवारी प्रविधि सम्बन्धी नियमित तालिम प्रदान गर्ने उद्देश्यसहित पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत सञ्चालन गरिएको ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ को उद्घाटन कार्यक्रमका अवसरमा उक्त समझदारीपत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच हस्ताक्षर आदान–प्रदान गरिएको हो। समझदारीअनुसार ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यासका विषयमा निरन्तर रूपमा अद्यावधिक गराइनेछ।
समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम आगामी माघ ४ गतेदेखि सुरु हुने छ। १७ कार्यदिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ। तालिममा तनाव व्यवस्थापन तथा ध्यान, सञ्चार र द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीपजस्ता विषय समेटिएका छन्।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता प्रयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा तथा यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा तालिम सामग्री, प्राविधिक स्रोत, विज्ञ सहजीकरण र आवश्यक समन्वय उपलब्ध गराउनेछ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ।
तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ पुलचोक र थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञान का प्रशिक्षकहरू, नाइमा सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षक रमन भट्टराईलगायत स्वतन्त्र विषय विज्ञहरू सहभागी हुनेछन्। केही महत्वपूर्ण सत्रहरू ट्राफिक प्रहरी प्रमुख तथा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरूले समेत सञ्चालन गर्ने जनाइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी दैनिक रूपमा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिबारे निरन्तर प्रशिक्षण आवश्यक रहेको बताए। उनले दीर्घकालीन साझेदारीमा नाइमाको प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरे।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले ‘Empowering Growth through Mobility’ भन्ने संस्थाको दृष्टिकोणअनुसार सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरवीमा नाइमासक्रिय रहँदै आएको बताइन्। उनले यस सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सडक सुरक्षा सुदृढ भई नागरिकमैत्री सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।
नाइमाका बोर्ड सदस्य तथा रोड सेफ्टी एण्ड इन्फ्रास्ट्रक्चर इनह्यान्समेन्ट कमिटीका संयोजक सौरभ ज्योतिले तालिम कार्यक्रम सडक सुरक्षा, जनचेतना र पूर्वाधार सुदृढीकरणसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसले सुरक्षित सडक संस्कृतिको विकासमा योगदान पुर्याउने बताए।
यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले तालिम कार्यक्रमले नयाँ तथा उदीयमान सवारी प्रविधिबारे अभिमुखीकरण गर्नुका साथै दैनिक सेवा प्रवाहमा आवश्यक व्यवहारकुशल सीप सुदृढ गर्ने उद्देश्य राखेको स्पष्ट पारे। उनले आवश्यकता र मागअनुसार सरोकारवालालाई प्रशिक्षित गर्ने कार्यक्रमहरू नाइमाका रणनीतिक प्राथमिकतामा रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर अघि बढाइने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्