देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्न राष्ट्रिय एकता आवश्यकः संयोजक दाहाल


काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् । 

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने बताएका हुन् ।

उनले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको पनि दाबी गरेका छन् ।

उनले मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको दोहो¥याए ।

उनले मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै नेकपा सोहीअनुरुप अघि बढ्ने बताए ।

मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकहरुलाई एकठाउँमा ल्याइएको उनले जिकिर गरे ।