काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारको राजस्व सङ्कलन अपेक्षाभन्दा कमजोर देखिएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व उठाएको छ जुन अर्धवार्षिक लक्ष्यको ८१ .७५ प्रतिशत मात्र हो।
सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यअनुसार राजस्व नउठ्दा करिब १ खर्ब ३० अर्ब रुपैयाँ अपुग भएको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य तय गरेको छ जसअनुसार हालसम्मको सङ्कलन करिब ३९ प्रतिशत मात्र पुगेको छ।
चालु वर्षको पुस महिनामा मात्रै सरकारले १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ उठाउने लक्ष्य तोकिएकोमा लक्ष्यको ८९.९६ प्रतिशत मात्र हासिल भएको हो। पुस ३० गते एकै दिन सरकारी खातामा २० अर्ब २६ करोड रुपैयाँ राजस्व दाखिला भएको तथ्याङ्कले देखाउँछ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा भने राजस्व सङ्कलनमा केही सुधार देखिएको छ। गत वर्ष पुस मसान्तसम्म सरकारले ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाएको थियो। त्यतिबेला वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ थियो। साथै गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
यससँग तुलना गर्दा यस वर्ष पुस महिनामा मात्रै करिब १० अर्ब रुपैयाँ बढी राजस्व उठेको देखिन्छ भने छ महिनाको समग्र सङ्कलनमा पनि १४ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि भएको छ। यद्यपि वार्षिक लक्ष्य हासिल गर्न सरकारले अबका बाँकी छ महिनामा करिब ९ खर्ब रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने चुनौतीपूर्ण अवस्था कायम नै छ।


प्रतिक्रिया दिनुहोस्